१३, भदौ विराटनगर । स्नातकोत्तर क्याम्पसका प्रमुख महेशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् । उनले १२ क्विन्टल किताब प्रतिकिलो १४ रूपैयाँका दरले बुधबार कवाडीलाई बिक्री गरेको कान्तिपुरले लेखेको छ ।
पुस्तकालयका किताब र विद्यार्थीले बुझाएका शोधपत्र बिक्री गर्न मिल्दैन । गर्नेपरे सम्बन्धित संकाय शिक्षक र विभाग प्रमुखसँग परामर्श गरेर माथिल्लो निकायको स्वीकृतिमा मुचुल्का उठाएर मात्र बिक्री गरिनुपर्ने हो । ‘तर क्याम्पस प्रमुखले कुनै प्रक्रिया पूरा नगरी पुस्तकालयका किताब र पाँच हजार विद्यार्थीका शोधपत्र बिक्री गरेर गैरजिम्मेवार काम गरेको पाइयो,’ स्नातकोत्तर क्याम्पस प्राध्यापक संघका सभापति टुनाराज भट्टराईले भने । २०४२ सालमा स्थापित क्याम्पसको पुस्तकालयमा त्यसैबेलादेखिका किताब संगृहीत थिए ।
बिक्री गरिएको हरेक किताबको मूल्य कम्तीमा अढाई सयदेखि बढीमा ५ हजार रूपैयाँसम्म थियो । प्राध्यापक संघका सचिव प्राध्यापक रामप्रसाद पोखरेलले विद्यार्थीले स्नातकोत्तर तहको उपाधि प्राप्तिका लागि शोधपत्र तयार गर्दा एकप्रति क्याम्पसको अभिलेखका लागि बुझाउनुपर्ने प्रावधान रहेको बताए ।
वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:५७ मा प्रकाशित