
बा गई रहन्छन् बजार
खुसी किन्न घरका लागि
आफूले नगदमा किन्छन्
र
हामीलाई जिन्सीमा बाँड्छन्
त्यो दिन बा जति राम्रो कोही हुँदैन घरमा ।
आमाको बुट्टे धोती
दिदीको आँखाको गाजल
भाइको आलु घडी
मेरो जुत्ता
र
नुन बोकेर आए बा
सुन जस्तै भएको छ घरमा सबै ।
आमाले पकाउँदै गरेको मासुको बास्ना
फैलिएको छ घर भरि,
अलि भित्र लुकाएर ल्याएको खोया बिर्के
बारीबाट टिपेर ल्याएको हरियो खुर्सानी
स्टिलको गिलास अगाडी राखेर
चकट्टिमा बस्दा बा
दङ्गदास छन्,
घरी–घरी सबैको अनुहार हेर्दै
घुट्क्याउँदा त्यो बिजुली झोल
मासुको बास्नासँग
बिजुली जस्तै तेज भएका छन् बाका आँखा ।
खुसी र गर्वले एकैपटक रोमाञ्चित
बा को बलियो हत्केलोको धाप
जब पर्छ मेरो ढाडमा
भोकले एकोहोरो
मासुमा केन्द्रित मेरो एकाग्रता खलबलिन्छ एकाएक,
जुत्ता देखाउन गाउँभरि दौडिँदा
थाकेर लुत्रुक्क परेको बिचरो म
आफै बिर्सिन्छु कक्षा प्रथम भएको
हेर्न थाल्छु घरी बाको उज्यालो अनुहार
र घरी मासुको कराहीबाट उडिरहेको बाफ ।
खाएपछि ओछ्यानमा बा लम्पसार परे
‘बा ! अर्को पटक तिमीसँग म पनि जान्छु है ?’
मेरो प्रश्न सूचक आग्रहमा बा गुनगुनाए मात्र
म भने कल्पना गरि रहेँ बजारको
जहाँ बा हरेक पटक जाँदा
खुसी बोकेर आउँछन् हाम्रो घरको ।
वि.सं.२०७६ भदौ १३ शुक्रवार १३:२७ मा प्रकाशित