back

कविता : मेरो आफ्नै घाम

वि.सं.२०७६ भदौ १४ शनिवार

585 

shares
GLOBAL IME AD
NTC AD

बदलिएको छ आकाश आज
रक्ताम्मे बादलहरु ओडेर बसेका
पहाड तराईका खोल्सा कन्दराहरु
टिलिली टल्किने प्रकाश जस्तो
आशाका उज्यालाहरु पर्खेर बसेका
निराशाका इन्द्रियलाई सोद्धा हुन्छ ।।
हजारौ पराजित तारिखहरुमा झुण्डिएका
शताब्दीका क्यालेन्डरलाई सोद्धा हुन्छ ।।
त्यो उन्मुक्तिको न्यानो घाम लिएर
कुनै मौसम नै आएन ..!!
बरु,
यन्त्रणा, त्रासदी एवम् बर्बरता बोकेका
निर्मम अनाचारी बर्षात्ले भिजाए ।।
क्रुर तानाशाही असिनाले चुट्नसम्म चुटे
कानूनको कालो हिमपातले कठ्याङ्ग्रिन लगाए ..!!
हरेक पाली रातो रगतले धुएको माटोले पनि
विजयी सयपत्री फुलाउन सकेन ।।
बल्लतल्ल उघ्रिने हताशाका कुइरोहरु हटेर
छ्याँङै पनि हुन्छ घरिघरि डाँडा पारीतिर..
एउटा क्षीण आशाको किरण टल्की रहन्छ ।
तर, मेरो गाँउमा झुल्किने
घामको बाटो बङ्ग्याई दिएछ
मेरो गाँउलाई शीतल दिने जून पनि
हिजाज औंसीले कुप्लुक्कै निलेछ ।।
भुइँको आकाशलाई छेकारो मारिदिएछ ।।
आकाशका भित्ताहरु कालो पारिदिएछ ।।

मेरो घरको छानोहरुलाई
अल्कात्रा ओढाउन चाहने छिमेकीको सपना
मेरो बारीको कान्लामा
कानूनको च्यादर सुकाउने छुच्ची छिमेकीको संकीर्णता..
मेरो कटेरोमा सुत्ने गोठालोलाई
हप्काई दप्काई मेरो दैलोमा छेर्नु लगाउने
दमनको सीमा जति नै नाघोस्,
तानाशाहीको अभद्रता जति नै होस्
आशाको दियो कहिले निभ्ने छैन्
यो पुर्खाको आशिर्वादको कसम छ
यो सम्पूर्ण शहीदको प्रणको कसम छ
चोट थाप्ने छात्ती कमजोर छैन
सहस्र पराजय होस्–हिम्मत टुट्ने छैन

हामीलाई ज्ञात छ
आभासले घोंची बस्छ
हो हाम्रो आकाश खोसिएको छ
हाम्रो घाम लुकाईेएको छ
दुलो–दुलो परेका आकाशमा
सबैका नयन अड्किएको छ
कतै न्यानो घाम झुल्किने पो हो कि
कतै मिठो कुइरोले सन्देश ल्याउने पो हो कि ??

धेरै भो नाँङ्गो तालू हिँडेको
धेरै भो खाली खुट्टै ठिहीमा उभेको ।
धेरै भो आफूलाई देशको ऐनामा हराएको ।
धेरै भो अस्तित्वको कुवामा पानी खोजेको ।
धेरै भो आफ्नो पाइतालाको भुइँ खोसिएको ।

हो चाहिने भो अब त
मेरो गाँउसित मेरो भिजेको सम्मान सुकाउन
मेरो आफन्तसित मेरो रुझेको दुई गाँस फुकाउन
मेरो छाँयासित मेरो निस्वार्थ साइनोको आँत सजाउन
मेरो पाइतालाले टेक्ने हरेक कण–कणसित आफ्नोत्व बचाउन
ठिहीर्याउने चिसो सही सही
न्यानो दिने त्यो घाम पर्खि रहेको छु
उनिहरु जस्तै आफ्नो ढाँड सुकाउन
मलाई मेरो घाम चाहिन्छ–
हो मलाई मेरो घाम चाहिन्छ–
मेरो आफ्नै घाम !!
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

वि.सं.२०७६ भदौ १४ शनिवार ०९:४८ मा प्रकाशित

लघुकथा : ठगि धन्दा

लघुकथा : ठगि धन्दा

सुरेशकुमार पाण्डे, दाङ, घोराही- १८ ‘छोरी मान्छे न देख्या झैँ...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ नजरले पिएको छु प्यासी नभन्नू...

गजल

गजल

पद्मा रिजाल, नेपालगंज तिमीमै समर्पित छु दासी नभन्नू छ चोखो...

गजल

गजल

चन्द्रावती अधिकारी कोहलपुर, बाँके प्राण भर्ने ओखतीझैँ जिन्दगी होस् शान्त...

चारु

चारु

दिपक पनेरु,सागरनाथ, सर्लाही तिमीले आगो पानीमा किन लगाएर गयौ सुन्दरताको...

लघुकथा : शिक्षक र विद्यार्थी

लघुकथा : शिक्षक र विद्यार्थी

भूपाल अधिकारी,विराटनगर होयर‌‌‌‌ वाज बुद्ध बर्न ? अर्थात ‘बुद्ध कहाँ...