१८ भदौ, काठमाडौँ । काठमाडौँको स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्काएर २० लाख रूपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो ।
रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौ १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्कादिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए ।
विश्वनिकेतन स्कुलका प्राधानाध्यापकसमेत रहेका हेरम्बराजले बहिनीलाई त्यस्तो धम्की आएको थाहापाएपछि कालिमाटी प्रहरी वृत्तमा उजुरी गरेका थिए ।
धम्की दिने सन्तोष उनीहरुकै आफन्त हुन् । धादिङ्को बेनीघाट –रोराङ गाउँपालिका – ५ घर भई नयाँ बजार बस्ने सन्तोषले रेन्जुको परिवारले सबै जानकारी राखेका थिए । पुरानो घर एकै ठाउँ भएकाले रेन्जुले सन्तोषलाई भाइटीकासमेत लगाउने गरेकी थिइन् । बुधबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ भदौ १८ बुधवार ०८:०७ मा प्रकाशित