
राजाहरुले हलो जोतेनन् , ति जमिन्दार पनि होइनन् तर पनि तिनीहरूलाइ एक्काइस एक्काइस हजार रोपनी जमिन किन चाहियो होला ? ती अनावस्यक जमिन आफै हेर बिचार र उपयोग गर्न नसक्ने जमिन कसरी बने होलान ? किन राखिए होला ? के राजाहरूका एक्काइस हजार रोपनि जमिन साच्चिकै हो र छ त ? राज्यले यसको बास्तविक तथ्य जनतालाइ बताइ दिनु पर्दैन र ? छ भने ती अनावस्यक परिणामको जमिन राष्ट्रियकरण गरेर औघोगिक, कृषि र भूमिहीनहरूलाइ उचित बसोबासको लागी प्रयोगमा ल्याउने काम गरिनु पर्दैन त ? राजाहरू व्यापारी पनि थिएनन्, होइनन तर पनि तिनका खरबौ खरब रकम कहाबाट कसरी बने होलान ? के साच्चै राजाहरूका खरबौ रकम छ त ? छ भने राजाहरूका जमिन र सम्पतिका आयश्रोत के थियो ? राज्यले तथ्य सत्य जनतालाइ जानकारी गराउनु पर्दैन र ?
अनि मु्ख्य र ठुला पदका पञ्च, काँग्रेस , कम्युनिष्ट , राजपा, कर्मचारी, व्यापारी, डाक्टर, पाइलट, इन्जीनियर, प्राध्यापक, ठेकदार, डन बन्दैमा भन्दैमा अरबपति, करोड़पति कसरी बने होलान ? साच्चिकै ती करोड़पति छन भने तीनका ती सम्पतिका आयश्रोत के थियो ? यसको वास्तविक तथ्य र सत्य आम जनतालाइ थाहा हुनु पर्दैन ? सम्वन्धित राज्यको निकायले यसको जबाफ दिन र उत्तरदायित्व निर्वाह गर्न पहल गर्नु पर्दैन ? अनियमितता र भष्ट्रताबाट निर्मित हो भने राज्यले कार्यवाही र जफत गर्नु पर्दैन त ? अख्तियार, सरकार र न्यायालय के हेरेर बसि रहेको छ ?
कतै यी सबै आफै बन्ने, आफ्नो जन्मस्थल नहेर्ने, पुर्खाका त्याग र जन्म ठाउ बिर्सने चलन र प्रवृतिले नै राज्य दोहन भएको हो कि ? गाउँ नबन्ने शहर मात्र भरिने भैरहेको हो कि ? राजाहरूका सन्तानहरूले हाम्रा पुर्खाहरूले पनि भारी बोकेका थिए भन्न र सोच्न सकेका भए युवराज र अधिराज कुमारहरू कुलतमा लाग्न र नालायक बन्ने थिएनन कि ? उल्टो पुर्खाका ती अवस्था र गरिबी तीनिहरूले लाज, शरम र बेइज्जतको कुरा ठान्न पुगे कि । तिनीहरूले देश लुट्ने राणाहरूकै छोरी, ज्वाइ रोजे । तिनले नेपाली होइन भारतीय बुहारी र ज्वाइहरू नै रोजे । जस्का कारण नेपाली समाज र राज्य देश र समाजमुखी बन्नै सकेन कि ! छिमेकी विदेशीले जे भने चाहे त्यही भए कि । ती हाम्रा पुर्खा कसरी बसेका थिए ? के खान्थे ? कसरी खान्थे ? कसरी बसेका थिए ? भनेर हेर्न, बुझ्न पुर्खाहरू जन्मेको ठाउँ हेर्न, घुम्न राजाहरू कहिले गएनन् किन ?
दुःखको कुरा राजाहरूले पुर्खाका जन्मस्थल बनाएनन्, भुले भनेर राजनीति र राज्य चलाउन आएका ठूला पञ्च, कांग्रेस, कम्युनिस्ट, राजपा लगायत सबै दलका मुख्य नेता, कार्यकर्ताहरू शहर मै घरबार, व्यवसाय गरेर बस्न थाले । तिनीहरूले पनि राजाहरूकै प्रवृत्ति अँगाले । आफू जन्मेको ठाउँ र गाउँ बिर्सिए । आफ्ना अतित र गरिबी सम्झन पनि नसक्ने । भन्न र सुन्न लाज मान्ने सोच र व्यवहारमा पुगे कै हो त ?
राज्य र संवैधानिक अंगका कर्मचारी र ठूला पदाधिकारीहरू, व्यापारी, डाक्टर, इन्जीनियर, प्राध्यापकहरू पनि पढ्न र रोजगारीको लागी शहर राजधानी बसे, पसे । अन्तत जन्मेको ठाउँ, गाउँ पनि बस्न र खान लायकको बनाउनु पर्छ, सुविधा र सुरक्षा सम्पन्न बनाउनु पर्छ भन्ने तिर कहिले लागेनन् । उल्टै आफ्ना सन्तति अमेरिका, बिर्टेन, जापान, युरोप तिर पढ्न र बस्न पठाए जस्को कारण आज पूरै नेपाली समाज विदेश जान बाध्य र विदेशिने लहर चलेको छ ।
राजाहरूले पुर्खाको गाउन् हेर्न र बनाउन युवराज र अधिराजकुमारहरूलाइ प्रेरित गरेको भए । प्रधानमन्त्री, मन्त्री, सासंद, सचिब, उधोगपति, न्यायाधिश, डाक्टर, इन्जीनियर, पाइलट, ठूला व्यापारीहरूले आफ्ना सन्तानहरूलाइ आफ्ना पुर्खाका जन्मस्थान र गाउँ हेर्न र बनाउन तिर प्रेरित गरेको भए आज हिमाल , पहाड तराइ, मधेशका नेपाली राजा र जनताका पुर्खाका गाउँ र ठाउँ आजको जस्तो अबिकिसित पक्कै हुने थिएन ।
यो पक्कै हो, देश र दल चलाउने र राज्यका प्रमुख अंगका पदाधिकारीहरू बस्ने भनेको शहर र राजधानी नै हो । जुनसुकै शासन र शाषक आए पनि हुने यही हो । तर, आफ्नो पुर्खा र आफू जन्मेको गाउँ, ठाउँ सम्झने र बनाउने काम कहिलेबाट र कोबाट शुरू होला ?
अरूले बनाएको, अरूले बनाइसकेको देश पुगेर हामी ‘वा, कस्तो बिकसित देश’ भन्छौ अनि ‘देश भनेको यस्तो पो हुनुपर्छ’ भनेर हामी विदेशमा रहनेहरू फोटो हाल्छौ । कुरा गर्छौ । यहाँनिर हामी भुलिरहेछौ । हाम्रो देश हामीले नै अर्थात नेपालीहरूले नै बनाउने हो । कुनै बिदेशीहरूले बनाइ दिदैन । आफ्नो जन्मस्थल र देश आफैले बनाउने हो कुनै विदेशी र परको गाउँलेले होइन । देश बनाउन नेता र कर्मचारी नलागेसम्म, गाउ, शहर गाउले र टोलवासी नलागेसम्म कुनै नेता र कर्मचारीले मात्र बनाउन सक्दैनन् ।
राजधानी–राजधानीवासीले, उपत्यका–उपत्यकावासीले, पुर्व–पुर्वेलीहरूले, पश्चिम–पश्चिमेलीहरूले, पहाड–पहाडीहरूले, तराई–तराइवासीले, मधेश– मधेशीहरूले अनि नेपाल–नेपालीहरूले मात्र बनाउन सक्छन् ।
यसको लागी जो जहा रहे पनि आफ्नो पुर्खा र जन्मस्थल सधै सम्झनु पर्छ । आज राजाका सन्तानहरूले, आज नेता र तिनका सन्तानहरूले तथा स्वदेश र विदेशमा रहेका नेपाली जनता र तिनका सन्तानहरूले सोच्ने र त्याग गर्ने समय हो । होइन भने शहर पसेर अनि बिदेश बसेर देश बनेन भन्नु बेकार हो । यसका दोषी र जिम्मेवार हामी सबै नेपाली हौ ।
वि.सं.२०७६ भदौ १८ बुधवार ०८:१९ मा प्रकाशित