back

न्यायको खोजीमा छन् रोल्पाली महिला

वि.सं.२०७३ मंसिर १४ मंगलवार

699 

shares

कविता उपाध्याय, १४ मङ्सिर, लिबाङ,रोल्पा  । लैङ्गिक विभेदकारी हिंसा अन्तका लागि देशव्यापी रुपमा अभियान चलिरहँदा पनि रोल्पाली महिला भने लैङ्गिक हिंसाबाट अछुतो रहन सकिरहेका छैनन् ।

एकातिर महिला हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिका कार्यालय रोल्पाले २६औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा दिवसका अवसरमा विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी १६ दिने अभियान सञ्चालन गरिरहेको छ भने अर्कोतर्फ हिंसापीडित महिला न्यायको खोजीमा दौडिरहेका छन् ।

करिब दुई वर्ष पहिले प्रेम विवाह गरेकी इरिवाङ रोल्पाकी २१ वर्षीया जैकला डाँगी न्यायको खोजीमा प्रहरीमा आउनुभएको छ । श्रीमान् तथा घरपरिवारले ‘तँलाई मार्छु कुट्छ’ु भनेर डर धम्की देखाएपछि आफ्ना बाबुको सहयोगमा उहाँ प्रहरीमा आएको प्रहरी जवान रीता चौधरीले जानकारी दिनुभयो ।

यस्तै कुरेली–४ रोल्पाकी ३३ वर्षीया शान्ति बुढाले असोज २१ गते श्रीमान्ले दोस्रो विवाह गरेको र आफूलाई वास्ता नगरेको भन्दै प्रहरीमा उजुरी दिनुभयो । पीडित बुढाका अनुसार श्रीमान्ले दोस्रो विवाहपछि आफ्नो नागरिकतालगायतका सम्पूर्ण कागजात कब्जामा लिएपछि उहाँ प्रहरी गुहार्न बाध्य हुनुभएको हो । अहिले इलाका प्रहरी कार्यालय रोल्पाले उहाँका श्रीमान्विरुद्ध बहुविवाहको मुद्दा दर्ता गरी सो घटनामाथि छानबिन तथा अनुसन्धान गरिरहेको छ ।

यसैगरी, बडाचौर–८ रोल्पाकी २० वर्षीया पार्वती बुढाथोकीका श्रीमान् विदेश गएको अवस्थामा सासूससुराले बुहारीलाई कुटपिट गरी घरबाट निकाला गरेको भन्दै कात्तिक ८ गते बुढाथोकी न्याय खोज्दै प्रहरीमा आउनुभयो । प्रहरीले सासूससुरा र श्रीमान्लाई झिकाई घटनामाथि छानबिन ग¥यो र सासू, ससुरा र श्रीमान्लाई माफी माग्न लगायो ।

यस्तै, सखी–३ चिसापानी, रोल्पाकी २३ वर्षीया रीता खाती परिवारले गरेको घरेलु हिंसा सहन नसकी करिब छ महिनादेखि माइती घरमै बस्दै आउनुभएको छ । प्रेम विवाह गरेकी खातीले पनि श्रीमान्ले जाँड रक्सी खाएर कुटपिट गर्ने र घरपरिवारले वास्ता नगर्ने गरेको आरोप लगाउनुभएको छ । साँझ बिहानको छाक पेटभरि खान अनि एकसरो लगाउन पनि समस्या हुन थालेपछि माइतीमै बस्दै आएको उहाँले बताउनुभयो । मोबाइल फोनबाट प्रेम चलेपछि सानै उमेरमा विवाह बन्धनमा बाँधिनुभएका खातीलाई हतारमा गरेको विवाहबाट अहिले पछुतो भइरहेको छ । “रातदिनको श्रीमान्को कुटाइ र सासूससुराको गालीगलौज सुन्नुभन्दा बरु एकछाक खाएर बस्छु तर त्यो घरमा त मरे जान्नँ,” परिवारबाट पाएको हिंसाको स्मरण गर्दै उहाँले भन्नुभयो ।

यी त जिल्लाका महिला हिंसाका प्रतिनिधि घटना मात्र हुन् । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा यस आर्थिक वर्षमा मात्र २८ वटा घरेलु हिंसा र २४ वटा सामाजिक हिंसा गरी जम्मा ५२ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । अघिल्लो आवमा घरेलु हिंसा ११२ वटा र सामाजिक हिंसा ४४ वटा गरी १५६ वटा महिला हिंसाका घटना दर्ता भएको प्रहरी जवान मिनू आलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उजुरीकर्ता महिलाले श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने, खान लगाउन नदिने, बिरामी पर्दा औषधि उपचार नगर्ने, श्रीमती तथा बच्चाको बेवास्ता गर्ने, तथानाम अपशब्द बोलेर गाली बेइज्जती गर्ने, घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने तथा घरमा रहेकी श्रीमतीको विवाह दर्ता र बच्चाको जन्मदर्तामा समेत बेवास्ता गर्ने गरेको दुखेसो प्रहरीमा पोख्ने गरेका छन् । विशेष गरी २० देखि ४० वर्षसम्मका महिला प्रहरीसमक्ष न्याय माग्न आउने गरेको उहाँको भनाइ छ ।

यसैगरी, महिला तथा बालबालिका कार्यालय रोल्पामा यस आवमा मात्र करिब १५ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । यसरी निवेदन दर्ता गराएका सबैजसो महिलाले सम्बन्ध विच्छेद गर्न चाहेको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमान् विदेश जाने र घरमा भएकी श्रीमतीलाई नगन्ने, घरमा भएका सासूससुराले दुःख दिने, विदेशमा भएको छोरालाई फोनबाट कुरा लगाउने र यस्ता कुरा सुनेर श्रीमान्ले फोनबाट श्रीमतीलाई धम्की दिने, गालीगलौज गर्ने, घरमा भएका श्रीमान्ले पनि मदिराले मातेर श्रीमतीलाई कुटपिट गर्ने एवम् शारीरिक तथा मानसिक रुपले यातना दिने गरेको पीडित महिलाले निवेदनमा उल्लेख गर्ने गरेका छन् ।

यसरी जिल्लामा १७ वर्षका किशोरीदेखि ५० वर्ष उमेरका नाति नातिनी देखिसकेका महिला पनि हिंसाको सिकार बनिरहेको उहाँको भनाइ छ । हिंसापीडित महिलाले श्रीमान्सँग सम्बन्ध विच्छेद गरेर टाढिएसँगै श्रीमान्ले दोस्रो विवाह गर्ने गरेका छन् भने आमाबाबु दुवैले छोडेपछि यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक असर बालबालिकामा पर्ने गरेको देखिएको छ । जिल्लामा सबैभन्दा बढी मदिरा सेवनका कारण महिला हिंसा बढ्ने गरेको उहाँको भनाइ छ ।

आचार्यका अनुसार जिल्लामा आफू सक्षम नबन्दै १३÷१४ वर्षकै कलिलो उमेरमा प्रेम विवाह गर्ने र २० वर्षको उमेरसम्म एकदेखि दुई सन्तान जन्माइसक्ने भएका हुँदा पनि महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन् जसका कारण उनीहरु घरेलु हिंसाको सिकार बन्न परिरहेको छ । यसरी बढिरहेको लैङ्गिक हिंसा न्यून गर्न कार्यालयले विभिन्न किसिमका सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । यसअन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि निगरानी समूह गठन र महिला सहकारी संस्थाको परिचालन तथा सशक्तीकरणका लागि जिल्ला संयोजन समितिको नियमित बैठक सञ्चालन भइआएका छन् ।

यस्तै, युनएफपिए रोल्पाका कार्यक्रम अधिकृत राजु जोशीका अनुसार लैङ्गिक विभेदमा आधारित हिंसा न्यूनीकरणका लागि जिल्लामा विभिन्न किसिमका चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । महिला तथा बालबालिका कार्यालयको सहकार्यमा जिल्लामा हिंसापीडित महिलाका लागि ‘सेफ हाउस’को व्यवस्था गरिएको छ । गत आवदेखि अहिलेसम्म ५० जना हिंसापीडित महिलाले सेफ हाउसबाट सेवा लिइसकेका छन् । साथै लैङ्गिक हिंसा न्यूनीकरणका लागि १६ दिने अभियानका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् भने महिला हिंसाविरुद्ध रेडियोमार्फत पनि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

जिल्ला विकास समिति, रोल्पाका सामाजिक विकास अधिकृत रत्नज्योति हमालले लैङ्गिक विभेदमा आधारित हिंसा अन्तका लागि महिला स्वयम् नै जागरुक बन्नुपर्ने बताउँदै राज्यद्वारा व्यवस्था गरिएका कानुनी प्रावधानको कार्यान्वयनमा जोड दिनुभयो । साथै, हमालले जिल्लामा महिला कुनै किसिमको हिंसामा नपरुन्, उनीहरुले आत्मनिर्भरताको बाटो अङ्गालून् भन्नका लागि जिविस रोल्पाले क्षमता विकास, सीप विकास तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । जिविस रोल्पाले प्रत्येक वर्ष जिल्लामा लैङ्गिक हिंसाबाट प्रभावित महिलाका लागि सञ्चालित सेफ हाउसका लागि रकम उपलब्ध गराउँदै आएको छ ।

महिला अधिकारकर्मी सरस्वती आचार्यका अनुसार नेपाली समाजमा नियालेर हेर्दा अधिकारकर्मीका श्रीमतीसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लैङ्गिक हिंसाको सिकार बनिरहेका दृष्टान्तहरु भेटिन्छन् । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०७:४५ मा प्रकाशित

Himalayan Life AD
बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...