१७ मंसिर, काठमाण्डौं । संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश विभाजनको विपक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उक्त प्रदेशका नेताहरु एकमत देखिएका छन् ।
उक्त प्रदेश विभाजनका विरुद्ध ऐक्यबद्धता जनाउन एमाले उपमहासचिव विष्णु पौडेल, घनश्याम भुषाल र सचिव गोकर्ण विष्ट बुटवल पुगिसकेका छन् । यस्तै माओवादी केन्द्रका पूर्वसचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि प्रदेश विभाजन विरुद्धको ऐक्यबद्धता कार्यक्रममा सहभागी हुन आजै बुटवल पुगेका छन् ।
स्थानीय पत्रकार राम भण्डारीका अनुसार बुटवलमा प्रदेश विभाजन विरुद्ध हुने आम सभाको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रमलाई एमालेका उपमहासचिवद्धय पौडेल र भुषाल, माओवादी केन्द्रका रायमाझी र कांग्रेसका भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त विरोध कार्र्यक्रमको नेतृत्व नेविसंघका पूर्व जिल्ला अध्यक्ष प्रकाश पोखरेलले गरेका छन् ।
वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०७:१९ मा प्रकाशित