१८ मङ्सिर,बुटवल । सरकारले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक खारेजीको मागसहित आह्वान गरिएको आन्दोलनका कारण आज तेस्रो दिन पनि रुपन्देही पूर्णरुपमा बन्द रहेको छ ।
बन्दका कारण व्यापार, व्यवसाय, उद्योग, शिक्षण संस्था, यातायात र औषधि पसलसमेत बन्द रहेका छन् । बन्द आह्वानकर्ताले बुटवलका विभिन्न चोकचोकमा बसेर आन्दोलनलाई शान्तिपूर्ण बनाउन धर्ना दिएको नेकपा (एमाले) रुपन्देहीका सदस्य बाबुराम पन्थीले जानकारी दिनुभयो ।
यसैगरी आन्दोलनलाई सफल बनाउन बुटवलको मिलनचोकमा स्थानीय भैरव युवा क्लवले राष्ट्रिय एकताका सन्देश दिने राष्ट्रिय गीत बजाएर साङ्गीतिक कार्यक्रम गरेको छ । सभालाई वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले सम्बोधन गर्दै राष्ट्र र जनहित विरोधी संशोधन विधेयक तत्काल खारेज हुनुपर्ने माग गर्नुभयो । रासस
वि.सं.२०७३ मंसिर १८ शनिवार १२:५२ मा प्रकाशित