१९ मंसिर। जुम्ला । चन्दननाथ बाबाको मन्दिरभित्र राखिएको दराज खोल्दा शनिबार प्राचीन दत्तात्रेय भगवान्को दुईवटा मूर्तिसहित अन्य मूर्ति भेटिएका छन् ।
केन्द्रीय अनुस्धान ब्यूरोको टोली, प्रहरी प्रशासन, मालपोत, नागरिक समाज, धर्म संस्कृतिसम्बन्धी जानकार ज्येष्ठ नागरिकको रोहवरमा मन्दिरभित्रको दराज खोलेपछि मूर्ति भेटिएका हुन् ।
प्राचीन ब्रह्मा, विष्णु र महेश्वरको मूर्ति भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । अभिलेखअनुसार २८ वटा मूर्ति चोरिएको भनिए पनि त्यसो नभई २१ मूर्ति चोरिएको र बाँकी सबै मूर्ति मन्दिरमै रहेको प्रजिअ पण्डितले बताउनुभयो ।
प्रहरी टोलीले अनुसन्धानलाई तीव्र पारेको प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताउनुभयो । उहाँले सुरुमा स्थापना गरिएको १६ इन्चको दत्तात्रेय भगवान्को मुख्य मूर्ति भेटिएको बताउनुभयो । उक्त मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिलाई शुक्रबार निलम्बित गरिसकेको छ ।
वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:२५ मा प्रकाशित