पर्खाइको एउटा भन्ज्याङ उक्लेर
टेक्दै आएका पाइलाहरू
पछ्याउँदै
सुस्केराभरी तिमी
स्मृति सुसाउ नभन प्रियतम
मलाई बिछोडका पलहरू बिझाउँछन्
छातिभरि टाँसेर अघोषित प्रेम–बिम्बहरू
बरु बेहोशीमै प्रेम गीत गाउँ भन
रेटेर संवेदनाका सङ्गीनहरू
हृदयको आलापित धुनहरू
गुन्जाइरहुँला अर्धमूर्छनामा ।
तिम्रो सम्झनाको अतुल गहिराइभित्र
बिताएका व्यग्र क्षणहरूको लस्करमा
उभिऊ नभन पृयतम
मलाई व्यग्रताको सुइराहरूले बिझाउँछन्
बरु आलाप्दै प्रेम वियोगका कथाहरू
मुटुमा खोपिरहुँला प्रेमका सुनौला अक्षरहरू
अक्षरहरूले प्रेम गीत गाइरहलान्
जबसम्म जिन्दगीमा
तिमी नै तिमी मात्र तिमी हुनेछौ ।
वि.सं.२०७६ मंसिर २१ शनिवार १०:१३ मा प्रकाशित






























