१७ डिसेम्बर, बेल्जियम । अहिले नेपालका मन्त्री, सांसददेखि मेयर -उपमेयर सम्मका पदाधिकारीहरु केहि सिक्ने भन्दै विभिन्न देशको भ्रमणमा निस्कने लहर नै चलेको छ । त्यसै क्रममा नौ दिने युरोप भ्रमणको तालिका मिलाएर बेल्जियम आएकी चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहलाई चितवन सहायता कोष बेल्जियमले भव्य स्वागत गरेको छ ।
क्याटले १५ डिसेम्बर,आइतबार एक कार्यक्रमको आयोजना गरि मेयर र उपमेरलाई सम्मान गरेको छ ।
उक्त सहायता कोषका अध्यक्ष रामचन्द्र सुबेदी (भुबन )को सभापतित्वमा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा थिए भने विशिष्ट अतिथिमा मेयर र उपमेयर रहेका थिए ।
त्यस्तै क्याट बेल्जियमका उपाध्यक्ष राजु घिमिरे द्वारा स्वागत गरिएको कार्यक्रमको सन्चालन महासचिब इश्वरी प्रसाद कंडेलले गरेका हुन् ।
एकजना सल्लाहकार र प्राबिधिक सहित आएका भरतपुर महानगरको प्रमुख र उपप्रमुखले आँफुहरुले नगरपालिकाको फोहर ब्याबस्थापनबारे युरोपियन तरिका, ट्राफिक सहजीकरण प्रणाली र नगर बिकासका अन्य जानकारीबारे केहि सिकेको बताउदै बेल्जियमको राष्ट्रबादी पार्टी एनभीआका नेता तथा बेल्जियमको फ्लांदर क्षेत्रका मुख्य मन्त्री (Minister-president van Vlaanderen),ECR (Europe commercial Refrigeration )समुहका उपाध्यक्ष लगायात केहि मेयरहरुसंग पनि भेटेको बताएका थिए।
आफ्नो मन्तव्यको क्रममा नगरप्रमुख रेणु दाहालले उपस्थित जनमासलाई इंगित गर्दै आंफुहरुको भ्रमणको ब्याबस्था गैडाकोटको अक्सफोर्ड कलेजले मिलाएको र ति बिषयलाई अन्यथा नबुझ्नको लागि आग्रह गरेकी थिइन् ।
उनले भारतपुर नगरपालिकामा बन्न लागेको अन्तराष्ट्रिय क्रिकेट रङशालालाई प्रबासबाट पनि सहयोग गर्न आग्रह गर्दै नगर बिकास धेरै कार्यहरु आशालाग्दो तवरबाट भैरहेको जानकारी दिइन् ।
त्यसैगरी उपप्रमुख शाहले पनि हामीहरु जुनसुकै पार्टीबाट निर्वा्चित भएपनि नगर बिकासको लागि मिलेर काम गरिरहेको बताइन् । उनले नेपालको पर्यटन बिकासको दृष्टिले चितवन हालसम्म तेश्रो गन्तब्य रहेको र अब चितवनलाई नेपालकै दोश्रो गन्तब्य बनाउन लागि चितवनबासीको संकल्प आबस्यक रहेको जनाइन् ।
सोहि अवसरमा राजदूत थापाले स्थानीय बिकासको युरोपियन मोडेल उत्तम रहेको र यहाँबाट धेरै कुरा सिक्न र लागु गर्न सकिने भएकोले त्यसतर्फ ध्यान दिन महानगर नेतृत्वलाई सुझाब दिए । नेपालको बिकासमा पर्यटन महत्वपूर्ण रहेकोले सबैले नेपालको पर्यटन क्षेत्रको ब्यापक प्रचार प्रसार गर्नुपर्ने बिचार राखे ।
गैरआबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदी,गैरअबासिय नेपाली संघ केन्द्रिय सहकोषाध्यक्ष लोक दाहाल , आईसिसी सदस्य सुभाश जोशी, क्याट जर्मनीका अध्यक्ष यज्ञराज सुबेदी लगायतको उपस्थितिमा भएको सम्मान कार्यक्रममा क्याट बेल्जियमकी संस्थापक अध्यक्ष सिता सापकोटा, निबर्तमान अध्यक्ष पार्वती अधिकारीले समेत क्याटले चितवनमा आजसम्म गरेका परोपकारी एबम सैक्षिक सहयोगबारे आफ्ना कुरा राखेका थिए ।
वि.सं.२०७६ पुस १ मंगलवार १०:५५ मा प्रकाशित