२२ मंसिर, रियाद (साउदी अरब) । साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो ।
त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि २५ वर्षसम्मको फरकफरक जेल सजाय तोकेको छ भने दुई जनालाई निर्दोष भएको फैसला दिएको छ ।
पक्राउ परेका ३२ जनामध्ये अधिकांश अर्थात् ३० जना साउदी नागरिक रहेका थिए भने एक इरानी र एक अफगानी नागरिक थिए ।
अदालतले उक्त समूहलाई राज्यको सैन्य गतिविधिसम्बन्धी जानकारी इरानी गुप्तचर संस्थालाई गोप्य रूपमा प्रवाह गर्ने गरेको अभियोग लगाउँदै सजाय सुनाएको हो ।
अदालतद्वारा दोषी ठम्याइएका केही अभियुक्तले साउदी अरबको आर्थिक, वित्तीय तथा शैक्षिक क्षेत्रमा उच्चस्तरमा रहेर काम गर्दै आएका अल अरेविया न्युजले जनाएको छ ।
साउदी प्रशासनले इरानलाई क्षेत्रीय शान्तिमा समस्या ल्याउने गतिविधि सञ्चालन गर्न बहराइन र यमनलगायतका खाडी मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएको छ ।
साउदी अरबले इरानसँगको कूतनीतिक सम्बन्धलाई सन् २०१६ को सुुरुदेखि नै तोड्दै आफ्नो इरानस्थित राजदूतलाई फिर्ता बोलाएको थियो । सिन्ह्वा
वि.सं.२०७३ मंसिर २२ बुधवार ०२:५७ मा प्रकाशित