१७ पुस, गुल्मी । गुल्मी जिल्लामा भ्रमण वर्ष २०२० रुरुक्षेत्र गाउँपालिकाको रिडीबाट शुभारम्भ गरिएको छ । गुल्मीमा देशका चारधाम मध्येको एक पवित्र तपोभुमी गुल्मीको रुरुक्षेत्र धाम भएको हुनाले पनि भ्रमण वर्ष २०२० रुरुक्षेत्रबाट शुभारम्भ गरिएको हो ।
रुरुक्षेत्रको रिडी गुल्मी, पाल्पा र स्याङजा तीन जिल्लाको संगम स्थल भएको हुनाले पनि रिडीबाट भ्रमण वर्षको शुभारम्भ गरिएको बताईएको हो । पर्यटकलाई आर्कषण गर्न सहज समेत हुने भएकाले गुल्मीमा भ्रमण वर्ष २०२० को शुभारम्भ रिडीबाट भएको हो । पाल्पाको ऋषिकेश मन्दिर नजिक पर्ने तथा तीन जिल्लाको संगम स्थल पनि भएकाले रिडीबाट भ्रमण वर्षको शुभारम्भ भएको हो ।
जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समिति गुल्मीको आयोजना तथा रुरुक्षेत्र गाउँपालिका पर्यटन पवद्र्धन समितिको सह–आयोजनामा गुल्मीमा भ्रमण वर्ष २०२० को रुरुक्षेत्रको रिडीबाट शुभारम्भ भएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए ।
पाँच नम्बर प्रदेशका सांसद तथा विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले भ्रमण वर्ष २०२० को शुभारम्भ गरेका थिए । भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा बोल्दै श्रेष्ठले विशेष गरि आन्तरिक पर्यटन पवद्र्धनमा जोड दिएका थिए । उनले आन्तरिक पर्यटकहरुलाई वृद्धि गर्नको लागि सबै स्थानीय तहहरुले आ–आफ्नो रणनीति बनाउन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा अन्तरपालिकास्तरीय भ्रमण गर्ने, भ्रमण वर्षलाई सफल बनाउनका लागि आन्तरिक पर्यटकलाई विशेष प्राथमिकता दिने, जिल्लास्तरीय रुपमा फुड फेस्टिभल सञ्चालन गर्ने जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीले जानकारी दिए ।
वि.सं.२०७६ पुस १७ बिहीवार १५:२८ मा प्रकाशित