१७ पुष, काठमाण्डौं । नेपाल अटो मोबाइल एसोसियसन (नाडा) का अध्यक्षसहितको टोलीले राजस्व अनुसन्धान विभागका निर्देशकबीच भेटघाट तथा छलफल भएको छ ।
नाडाका नवनिर्बाचित अध्यक्ष कृष्ण प्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले विभागका महानिर्देशक दिर्घराज मैनालीसँग बुधबार भेटघाट गर्दै विभिन्न समस्यमा छलफल गरेको छ ।
एसोसियनले सरकारले व्यवसायीक क्षेत्रलाई पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (vehicle consignment tracking system) को कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल गरेको हो ।
यहि पुष १६ गतेदेखि नाडाका प्रतिनिधि मण्डले महानिर्देशक मैनालाीसँग भेटेर अटोमोबाइल्स व्यवसायीहरुमा भिसिटिएस बारे अन्यौलता रहेको र यसबारे आवस्यक जानकारी समेत नभएको कारण अटो व्यवसायीहरुले जरिवाना तिर्नुपरिरहेको बारेमा महानिर्देशकको ध्यानाकर्षण गराएका थिए ।
उक्त भेटघाट तथा छलफलका क्रममा महानिर्देशक मैनालीले यस्तो सिस्टम व्यवसायीहरुको हितको लागि ल्याइएको जानकारी दिँदै व्यवसायीहरुलाई के कस्ता सहयोग आवस्यक पर्छ त्यो गर्न विभाग सदैव तयार रहेको भन्दै व्यवसायीलाई विश्वस्त गराएका थिए ।
महानिर्देशक मैनालीले यो सिस्टम छुट्टै कर नभएको, व्यवसायमा पारदर्शिता भएपछि त्यसमा स्वत : जवाफदेहिताको विकास हुने भन्दै व्यवसायीहरुकै सहजताका लागि असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको समेत जानकारी दिएका थिए । उनले विभागले राखेको कम्प्युटराइज सिस्टम बारे पनि नाडा प्रतिनिधि मण्डललाई जानकारी गराएका थिए ।
सोहि अवसरमा नाडाका अध्यक्ष दुलालले भिसिटिएस बारे अटोमोबाइल्स व्यवसायीलाई आवस्यक जानकारी दिन नाडाले एक महिनाभित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएकाले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागले विज्ञ उपलब्ध गराइदिनुपर्ने माग समेत राखेका थिए ।
अध्यक्ष दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीमा नाडाका निर्वतमान अध्यक्ष शम्भु प्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल समेतको सहभागीता रहेको थियो ।
वि.सं.२०७६ पुस १८ शुक्रवार १०:२१ मा प्रकाशित