२३ पुष, आयरल्याण्ड । नेपाल सरकारद्वारा घोषित ‘नेपाल पर्यटन बर्ष २०२०’ सफल पार्नका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) आयरल्याण्ड र नेपाली राजदूताबास लण्डनको संयुक्त समन्वयमा आयरल्याण्डमा भिजिट नेपाल २०२० को उद्घाटन समारोह सम्पन्न गरिएको छ ।
नेपाली दूतावास लन्डनका तृतीय सचिव तेजेन्द्र रेग्मीको प्रमुख आतिथ्यतामा जनवरी ६ मा टिचर्स क्लब, डब्लिन, आयरल्याण्डमा आयोजित उद्घघाटन समारोहको सभापतित्व संघका अध्यक्ष मिलन छन्त्यालले गरेका थिए ।
कार्यक्रममा आयरल्याण्डमा भएका भिभिन्न संघसस्थाका अध्यक्षहरु, ब्यबसायीहरु, कोर्क, लिम्रिक, गल्वे, कार्ल तथा पोर्तलिज लगायतका शहरहरुबाट सयौको संख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको उक्त समारोहमा संघले क्षेत्रिय उपसंयोजक शुक्रराज न्यौपाने र केन्द्रीय सदस्य बिनोद कार्कीलाई बधाई तथा सम्मान गरेको थियो ।
सोहि अवसरमा राजदुूताबास पाउने सम्पूर्ण सेवा सुबिधा लिन सजिलो होस् भनेर घुम्ती शिबिरको पनि व्यवस्था गरिएको थियो । उक्त घुम्ती शिबिरबाट आयरल्याण्डमा रहेका धेरै नेपालीहरुले फाइदा लिएको बताइएको छ ।
समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै दूतावासका तृतीय सचिव रेग्मीले नेपाल सरकारको एक मात्र साझेदारी संस्था गैरआवासीय नेपाली संघसँग हरपल नेपाली दूतावासले सहकार्य गर्दै आएको बताउँदै यो निरन्तरतालाई भबिस्यमा अझै अर्को उचाइमा लैजानु पर्ने बताएका थिए ।
संघका अध्यक्ष मिलन छन्त्यालले “नेपाल पर्यटन बर्ष २०२०“ सफल पार्नको लागि आयरल्याण्डमा गरिने कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष छन्त्यालले भने, ‘हामि जुन तौरतरिकाले विदेशमा रहे पनि आफ्नो मातृभूमिप्रतिको स्नेह सम्झेर यस पर्यटन बर्षको प्रचार-प्रसारमा संघले अगाडी सारेको कार्ययोजनालाई पूर्ण साथ दिन अनुरोध गर्दछु ।’
संघद्धारा ३१ डिसेम्बर २०१९, नयाँवर्ष एव मनाउन डब्लिनमा जम्मा भएका लाखौ आइरिस तथा बिदेशीको अगाडी पर्यटन बर्ष २०२० को लोगो अंकित टोपी र ब्यानर बोकेर र्याली समेत निकालिएको थियो ।
‘नेपाल पर्यटन बर्ष २०२०’ सफल पार्ने उदेश्यले राजदूताबास र संघको संयुक्त छलफलमा २१ सदस्यीय “नेपाल पर्यटन बर्ष २०२० मूल समिति’ को घोषणा पनि सचिव रेग्मीले गरेका थिए ।
कार्यक्रमको अन्तमा उपस्थित हरेकले आफ्नो मनमा लागेका प्रश्नहरु सोध्न पाउन भनेर एक अन्तरक्रिया कार्यक्रमको व्यवस्था समेत गरिएको थियो । प्रश्नहरुको उत्तर संघका अध्यक्ष छन्त्याल र राजदूताबास सचिब रेग्मी ले पालैपालो दिएका थिए ।
कार्यक्रमपछि राजदूताबास, संघ र आयरल्याण्डमा रहने नेपालीहरुको सम्बन्ध आगाध बनाउने उदेश्यले संयुक्त डिनर समेत गरिएको थियो ।
वि.सं.२०७६ पुस २३ बुधवार १५:२७ मा प्रकाशित