कुनै ठाउँमा एउटा राजा थिए । उनी वुद्धिमान र महत्वाकांक्षी थिए । उनको राज्य सुखी र समृद्ध थियो । उनले राज्यमा सबै जातजातिलाई मिलाएर समावेशी मन्त्री मण्डल गठन गरेका थिए ।
आफूले गठन गरेको मन्त्रीमण्डलमा एकजना खस ब्राम्हणबाट बबण्डर पाँडे पनि नियुक्त भएका थिए । उनी नाम अनुसार मुलुकमा बेला बेलामा बबण्डर मच्चाउँथे, शासन सत्तामा सुनामी ल्याउँथे । बबण्डर पाँडेका हर क्रियाकलापमा राजा निगरानी राख्ने गर्दथे ।
एक दिन राज्य शासन हत्याउन मन्त्री बबण्डर पाँढेले तयार गरेको गोप्य योजनाको सूचना चनाखो गुप्तचरले राजालाई सुटुक्क सुनायो ।
गुप्तचरमार्फत् मन्त्री बबण्डर पाँडेको योजना सुन्नासाथ राजा अति नै रिसाए । उनले तुरुन्तै सेनापतिलाई बोलाएर मुलुकमा भएका सबै पाँडेहरूलाई सिध्याउन आदेश दिए ।
सेनापतिले राजाको आदेश पालना गर्दै मन्त्री बबण्डर पाँडेसहित मुलुकभरका सबै पाँडेहरूलाई सिध्याए । राजाको त्यो कदमले मुलुकमा पाँडेबंशको विनाश हुन पुग्यो ।
मुलुकमा पाँडे बंशको नै विनाश भएपछि राजाले सेनापतिलाई दर्शन भेट दिए । ‘स्यावास् सेनापति ! कोही बाँकी छन् त यो राजगद्दी ताक्ने ?’
‘सरकार ! मुलुकमा भएभरका पाँडेहरूलाई सिध्याएर आएँ । सरकारको आदेशअनुसार मुलुकमा भएभरका पाँडेहरूलाई सिध्याए, खतम पारेर आएँ ।’
‘ठीक ग¥यौ सेनापति !’
राजा खुसी भएर सेनापतिलाई राज्यकोषबाट असर्फीहरू बक्सिस दिए ।
उता गाउँमा बबण्डर पाँडेकी श्रीमती गर्भिणी थिइन् । उनले छोरा पाइन् । राजाले थाहा पाए भने मार्छन् भनेर उनले त्यो छोरालाई बुइगलमा घ्याम्पोमा राखेर लुकाउने गर्थिन् । धेरै दुःख कष्ट सहेर त्यो बालकलाई ध्याम्पोमै राखेर आमाले हुकाईन बढाइन् । बालकलाई आफूले जाने जतिको शिक्षादिक्षा दिइरहिन् ।
एकदिनको कुरा हो राजालाई एउटा ठूलो भन्नै नहुने समस्या आइ प¥यो । कुनै एउटा व्यक्तिले उक्त समस्यालाई गोप्यरुपमा तत्काल समाधान गरिदियो । आफ्नो समस्या समाधान भएकोले राजा खुसी हुँदै ‘जे माग्छौ, माग ।’ भनेर हुकुम भयो ।
‘सरकार ! मलाई के चाहिएको छ, घर परिवारमा सल्लाह गरेर सात दिनपछि मलाई चाहिने कुरा बक्सिस लिन अवश्य आउँनेछु । सरकार ! मेरो यही बाचा भयो ।’ भन्दै राजासँग उसले विदा माग्यो ।
‘लौ हुन्छ, मेरो पनि यही बाचा भयो । सातदिनपछि तिमी पक्कै बक्सिस् लिन आउनु है ।’ भन्दै राजा र त्यो व्यक्ति छुट्टिए ।
राजाले सात दिनपछि उसलाई विशेष बक्सिस दिने कुरा देशभर फैलियो । यो कुरा बबण्डर पाँडेकी श्रीमतीले पनि थाहा पाइन् । घ्याम्पामा लुकाएको बालकलाई दरबारमा सम्मानका साथ पु¥याउन उनले तिनै बक्सिस पाउन लागेका ती व्यक्तिलाई भेट्न पुगिन् ।
‘तिमीले राजासँग अब के बक्सिस माग्दै छौ ?’ उनले सोधिन् ।
अन्कनाउँदै, ‘आफूलाई धरै कुरा खाँचो छ । खै, के मागौ के ? म आफू नै दोधारमा परेको छु ।’ उसले भन्यो
‘मैंले भनेको माग्छौं त ?’ उनले सोधिन् ।
‘लौ रामै्र चीज भए मागौंला नि, भन्नूस् न के मागौं ?’ उसले भन्यो ।
‘केही माग्नु पर्दैन, ‘सरकारको टाउकोमा हग्न पाउँ’ भनेर माग ।’ उनले भनिन् ।
‘ह्याँ ऽऽ यस्तो पनि माग्छन् त ? के के न भन्नु होला भनेको त आफ्नै काल माग्नु हुन्छ त मैंले ?’ भन्दै ऊ रिसाउन थाल्यो ।
‘मागेर त हेर, सरकारले नदिए म दिउँला तिमीलाई चाहिने कुरा ।’ भन्दै उनले सम्झाइन् । त्यस पछाडि ऊ सहमत भयो ।
सातौं दिनको दिन दरबारमा सरासर गयो । उसले के बक्सिस माग्ला भनी जनतामा ठूलो हलचल मच्चिएकोले दरबारको पटाङ्गिनीमा जनताहरुको ठूलो भीड लागेको थियो । सरकारबाट हुकुम भयो, ‘लौ माग, के माग्छौ ? माग ।’
उसले भन्यो, ‘सरकार ! मलाई अरु केही चाहिँदैन । सरकारको टाउँकोमा हग्न पाउँ ।’
त्यसपछि दरबारमा पूरै सन्नाटा छायो । राजा पनि अलमलमा परे । राजा आफू बाचामा हारेकोले उसको माग पूरा गर्न उनले सातदिनको म्याद मागे ।
आफूलाई अप्ठेरो परेकोले राजाले भाइभारदार सहितको बैठक बसाले । उक्त समस्याको समाधान कसैले पनि गर्न सकेनन् । बैठकमा उपस्थित भएका सबै भाइभारदार आपसमा मुखामुख गर्दै, ‘यस्तो समस्या त बबण्डर पाँडेले मात्र समाधान गर्न सक्थ्यो, अब कसले यो समस्या समाधान गर्न सक्ला ?’ भन्दै आपसमा कानेखुसी गर्दै थिए ।
राजाका बडागुरुज्यूले ज्योतिषसँग पनि सल्लाह मागे । ज्योतिषले विनम्रभावमा मुलुकमा बचेखुचेका पाँडेको खोजी भएमा यो समसस्याको तत्काल निराकरण हुने उपाय बताए । त्यसपछि राजाले सेनापतिलाई मुलुकभित्र कुना, कन्दरा जहाँबाट भए पनि पाँडे खोजेर ल्याउन आदेश दिए ।
सेनापति मुलुकभर पाँडे खोज्दा खोज्दा हैरान भयो । बल्ल तल्ल छैंठौदिन उसले बालक पाँडे भएको ठाउँ पत्ता लगायो । बालककी आमासँग, ‘राजालाई परेको समस्या हटाउन तपाईको छोराले मात्र सक्ने भएकोले उसलाई भोलि दरबारमा बोलाहट भएको छ । त्यसैले तपाईको बालक लिएर दरबार जान्छु ।’ भन्यो ।
पहिले त ती आमाले मानिनन् । पछि सेनापतिले बाचा गरेपछि छोरालाई साथमा सकुसल लैजान मञ्जुर गरिन् ।
सातौ दिन भयो । बिहानै सबैजना दरबारको पटाङ्गिनीमा उपस्थित भए । बक्सिसको रुपमा राजाको टाउकोमा हग्न पाउँ भन्ने पाउने व्यक्ति पनि सानदारका साथ आयो ।
सेनापतिको साथमा बालक पाँडे पनि त्यहाँ आइसकेका थियो ।
राजाले बालकको मुखमा हेर्दै, ‘मेरो टाउकोमा हग्न पाउँ भन्ने व्यक्ति यही हो भनेर चिनाए ।’
त्यसपछि बालक पाँडेले भने, ‘तिमी नै हौ सरकारको टाउकोमा हग्न चाहने व्यक्ति ?’
‘हो मैं हुँ ।’ उसले फूर्तिसाथ भन्यो ।
‘लौ सरकार टाउको थापिवक्स्योस् ।’ बालक पाँडेले हातमा तरबार लिँदै, ‘लौ हग्ने भए हग, मुतिस् भने काटौला ।’ भन्न थाल्यो,
टाउकोमा हग्न चाहने व्यक्ति बालक पाँडेको कुरा सुनेर अलमल्लमा प¥यो । किनकी दिसा भन्दा पहिले पिसावै आउँछ । उसको केही लागेन । अँध्यारो मुख लगाउँदै ‘भैगो मलाई बक्सिस केही चाँहिँदैन ।’ भन्दै एकाएक त्यहाँबाट भाग्यो ।
राजाको ठूलो समस्या बालक पाँडेले सजिलै टार्न सफल भयो । बालकलाई राजाले काजी पदवी दिलाइ आफ्नै दरबारमा राखे । यसरी बबण्डर पाँडेकी श्रीमतीले आफ्नो छोरालाई दरबार भित्राउन सफल भइन् । त्यसै बेलादेखि यो ‘हगे हग, मुते काटौला’ भन्ने उखान नेपाली समाजमा चलन चल्तीमा आएको मानिन्छ ।
समाप्त
सङ्कलन तथा पुर्नलेखन कान्छा तिवारी
साँखु, सङ्खरापुर, काठमाडौं
वि.सं.२०७६ पुस २६ शनिवार १०:२१ मा प्रकाशित