२० माघ, काठमाडौं । उच्च अदालत पाटनको आदेश अनुसार रिहा भएलगत्तै पुनः पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ब्युरो सदस्य माइला लामासहित तीन जनालाई सुनसरी पठाउने तयारी गरिएको छ । उनीहरुविरुद्ध सुनसरीमा पनि हातहतियार र विस्फोटक पदार्थसम्बन्धी मुद्दा रहेकाले सुनसरी पठाइने भएको हो ।
उच्च अदालत पाटनको आदेशअनुसार रिहा भएका लामासँगै विप्लव नेकपाका केन्द्रीय सदस्य नवीन विश्वकर्मा र नेतृ धिरिन्द्रा उपाध्याय आइतबार पुनः पक्राउ परेका थिए ।
यसअघि उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार तीनै नेतालाई रिहा गर्ने आदेश दिएको थियो ।
नख्खु बम बिस्फोटको आरोपमा पक्राउ परेका लामालाई गत साउन ७ गते जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
वि.सं.२०७६ माघ २० सोमवार ११:४१ मा प्रकाशित






























