२६ मङ्सिर,सोफिया (बुल्गेरिया) । बुल्गेरियाको हिट्रिनो रेल स्टेसनमा ग्यास लिएर आएको एक रेल ट्र्याक बाहिर गएपछि दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ ।
ग्याससहितको रेल दुर्घटना भएपछि ग्यास विस्फोट भएको र विस्फोटमा शनिबार बिहान घटनास्थलमै चारजनाको मृत्यु भएको थियो भने घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।
विस्फोटका कारण २७ जना घाइते भएका र ५० निजी घर तथा केही सार्वजनिक भवनमा समेत क्षति पुगेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
दुर्घटनापछि थप मानिस प्रभावित नबनुन् भनी स्थानीय ४० घरलाई खाली गरिएको छ । घटनाबारे अनुसन्धान सुरु भएको जनाइएको छ । रासस÷सिन्ह्वा
वि.सं.२०७३ मंसिर २६ आइतवार ०६:४३ मा प्रकाशित