
१२ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा फैलिएकोमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले चासो व्यक्त गरेका छन् । चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्यामा ७६३ पुगेको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै देउवाले भने केहिदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहिको मृत्यु समेत भैसकेको विवरण संचार माध्यमहरु मार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संंवेदनशीलता प्रति हाम्रो चासो बढेको छ । नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौं ।
सभापति देउवाले संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गरेका छन् ।
यो भाइरसका कारण चीनमा सबैभन्दा धेरै २ हजार ४ सय ४२ जना मृत्यु भैसकेको छ । चीन बाहिर इरानमा ८, दक्षिण कोरियामा ७, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ गरी २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।
हेर्नुहोस् देउवाद्धारा जारी अपिल
कोरोना भाइरस (कोबिड १९) को संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेका छन् । केहिदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहिको मृत्यु समेत भैसकेको विवरण संचार माध्यमहरु मार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संंवेदनशीलता प्रति हाम्रो चासो बढेको छ । नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौं ।
विशेष गरी संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु ।
यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गर्दछु ।
जय नेपाल ।
वि.सं.२०७६ फागुन १२ सोमवार १७:०१ मा प्रकाशित