
नेकपा एमालेका तत्कालिन रुकुम सचिव यदु गौतमको २०५५ फागुन २१ हत्या भएको थियो । २० वर्षपछि पनि उनको हत्या कसले र किन गरियो भन्ने प्रश्नको जवाफ आफूहरुले पाउन नसकेको पीडा यदुका भाइ मुक्ति गौतमले पोखेका छन् ।
क्यानडामा रहँदै आएका उनले सामाजिक सञ्जालमा यदुको हत्या भएको आजको दिनको स्मरण गर्दै हत्या गर्नुपर्ने कारणको जवाफ खोजेका छन् । उनले लेखेका छन् ‘आमाले सोध्दै हुनुहुन्थ्यो कैयन् प्रश्नहरू – उत्तर नपाएरै बित्नु भो । बूढो बा, परिवार, समाज र इष्टमित्रहरूका प्रश्नहरूको जबाफ कसले दिने होला ? हत्या किन गरियो ?’
उनले दाइको सम्झनामा लेखेका छन् :
फागुन २१– दाइ यदु गौतमको सम्झना !
यही दिन खोज्दा एउटा पनि प्रस्ट उज्यालो फोटो भेटिँदैन । दुई भाइको फोटो खिच्न जुरेको एक पटक थियो मैले बिहे गरेर रुकुम गएपछि ०५० सालमा । त्यो पनि कामबाट थाईलैण्ड भ्रमणमा जाँदा जोगाएर किनेको क्यामराको कारण सम्भव भएको थियो । ती फोटाहरू हत्या पछि स्मारिका निकाल्ने भनेर लानेहरुले सबै हराई दिए । अरू मधुरा फोटो हेरेर भन्दा आँखा चिम्लिएर गम्दा बरु प्रस्ट अनुहार आउँछ । वरिपरि दौडिरहेको पाउँछु अझै । केही पाउँदार जित्दा – सम्झिन्छु । हार्दा, लड्दा – सम्झिन्छु ।
फागुन २१ आउँदा एकै पटक आक्रोश, घृणा, रिस र अनगिन्ती भावनाहरू आउँछन् आँधी बेरी बनेर। त्यो भन्दा ठूलो झड्का महशुष हुने भनेको अनुत्तरित प्रश्नहरूको हो । आमाले सोध्दै हुनुहुन्थ्यो कैयन् प्रश्नहरू – उत्तर नपाएरै बित्नु भो । बूढो बा, परिवार, समाज र इष्टमित्रहरूका प्रश्नहरूको जबाफ कसले दिने होला ? हत्या किन गरियो ?
फेरि पनि हत्या कुनै पनि अर्थमा जायज हुनै सक्दैन !
हार्दिक श्रद्धाञ्जली मेरो प्यारो दाइ !!!!
वि.सं.२०७६ फागुन २१ बुधवार ०९:४२ मा प्रकाशित