
२१ फागुन, काठमाडौँ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई हठात र अकस्मात दिन तोकेर बोलाउनुको रहस्य खुलेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नचाहँदा नचाहँदै पनि प्रधानमन्त्रीको कडा आदेशमा नेपाल फर्किन भनिएकोमा अनेकौँ क्रिया प्रतिक्रियाहरु उत्पन्न भएका थिए । ४ वर्षको समयावधि पुग्न केही महिना बाँकी रहेका राजदूत लीलामणिलाई बोलाइरहँदा अनेकौँ आशंका उत्पन्न भएका थिए ।
लीलामणि राजदूत भएपछि लामो समयदेखि प्रतिक्षा गरिएको चीनका राष्ट्रपति सीको महत्वपूर्ण भ्रमणसँगै नेपाल–चीन सम्बन्धमा भित्री र बाहिरी प्रयासका सकरात्मक प्रभाव र परिणाम आइरहेका थिए । राजदूतहरु मध्ये कौशलता र क्षमतासहित उनले आफ्नो भूमिका निर्वाह गरेको बताइन्थ्यो । गुल्मीबाट निर्वाचित नेता प्रदिप ज्ञवाली लीलामणिका कामप्रति नतमस्तक थिए भने राजनैतिक वृत्तमा पनि नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनको रचनात्मक क्रियाशिलता राम्रै मानिएको थियो ।
लीलामणिलाई बोलाउने अकस्मात निर्णयपछि प्रधानमन्त्री ओली र प्रचण्डको दुरी बढेको कारण ‘बदला लिइएको’ लगायतका प्रतिक्रियासमेत उत्पन्न भएका थिए । चीनीया राष्ट्रपतिको नेपाल भ्रमणका बेला बिना सेडुयल प्रचण्डसँग भेटघाट गराउन लीलामणिले खेलेको भूमिका बारे पनि टिप्पणी भएका थिए तर यी सबै आशंकाका सहायक पक्ष भएका छन् ।
बुधबार प्रकाशित जनआस्थाका अनुसार चीनको दूतावास भवन पानी चुहिने भएपछि त्यसलाई नयाँ र आधुनिक बनाउन लीलामणि पौडेलले नेपालबाट इन्जिनियर समेत झिकाइ इष्टिमेट तयार गरी सरकारलाई बुझाइसकेका थिए । कोरोना भाइरस नआएको भए भवन निर्माण शुरु हुने बेला थियो । कुल १ अर्ब ४० करोडको परियोजनामा न्यूनतम १० प्रतिशत कमिशनको शर्त उनी सामु पु¥याइयो । शाकाहारी, अव्यवहारिक र रुखो स्वभावका लीलामणि पौडेलसँग पैसो झर्ने स्थिति नदेखेपछि बालुवाटारका एकजना भित्रीया र व्यापारीको खेलमा परराष्ट्रमन्त्रीको चाहना विपरित पनि उनलाई फिर्ता बोलाइएको कुरा प्रकाशित भएको छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार ०९:५९ मा प्रकाशित