सरकार !
तिम्रो मण्डलका मन्त्रीहरूको झैँ
मणि–माणिक्य, हीरा, पन्ना र सुनचाँदी,
देश–विदेशमा घर/घडेरी र जमिन,
कार, बैंक ब्यालेन्स र शेयर नहोला मसँग
तर नठान्नू कि म कङ्गाल छु ।
सरकार !
मसँग पनि छ सम्पत्ति–
१२ ग्रामको एक थान मथिङ्गल,
जहाँ लाखौँ असल बोट फल्छन् विचारका
लहरा झाँगिन्छन् सुन्दर कल्पनाका ।
सुन्दर सपनाले गुँड लगाइरहने
चौँथाइ ओजका दुई थान आँखा छन्,
जो बन्न सकेका छैनन्
तिम्रा (मन्त्रीहरूका) चोर गतिविधि नियालिरहने सीसीटिभी
तर सम्यक मार्ग पहिल्याउन सक्षम छन् ।
एक औसत घ्राणशक्तिको नाक छ,
राज्यका सक्कली अभियुक्तहरू चिन्न समय लाग्ला
तर भ्रष्टाचार, दलाली र हिंसाको तिखो गन्धले रन्थनिएको छ ।
(सरकार, मसँग दुई थान कान पनि थियो
ठीक दश वर्षअघि (दशवर्षे जनयुद्धको मलामी–समय)
बारुदी धरापमा परेझैँ अचानक भग्न भए
तर नठान्नू कि म सुन्न सक्दिनँ तिम्रो झुटो बयान ।)
मेरो सम्पत्ति दुई थान मृगौला पनि हो,
जो आमाको जीवन बचाउन बेच्नुपर्नेछ मैले
मेरो अस्तित्वको ‘बीजभण्डार’ पनि छ
जो सृष्टिको नैरन्तर्यलाई दान गर्नुपर्नेछ मैले ।
मेरो सम्पत्ति दुई थान पाखुरी पनि हो,
जसले जीवनको बारी आबाद गरेर
दैनिक दुई माना चामल फलाउछ
प्रशोधनका लागि एक पाचनयन्त्र पनि छ ।
घडेरीका रूपमा दुई थान पाइताला छन्
जसमाथि यो एक मांशपिण्डको घर
अड्याएका छन् पातला नलिहाडका पिल्लरहरूले ।
अर्को एक थान सङ्गीत बाजा पनि छ– मुटु
कहिलेकाही नराम्रोसँग आघात पर्दा
धुक्क र धुक्क गर्दै पीडाको धुन निकाल्छ,
अक्सर त्यहाँ घुमिरहन्छ एक जैविक टर्बाइन्
र, बलिरहन्छ मेरो प्राणको बत्ती ।
सबैभन्दा मूल्यवान् सम्पत्ति–
मसँग इमान छ/स्वाभिमान छ,
र, छ ज्यानमा एक थान मानवताको खोल ।
तर सरकार !
मैले देशको ऋण पनि बोकेको छु ।
सरकार !
यो सम्पत्ति विवरण
सोह्रै आना सही हो (झुटो भए कानुनबमोजिम सहुँला/बेहोरुलाँ)
जुन आमाबाबाको रगत–पसिना–वीर्यले आर्जित
मेरो पुख्र्यौली सम्पत्ति हो ।
वि.सं.२०७३ मंसिर ३० बिहीवार ०९:२० मा प्रकाशित