सुक्यो खोला, पग्लेन हिउँ,
पुगेन सिन्चन, उम्रेन बिऊ,
अनिकालको आशंकाले,
बाँझो फुटाएको हातको ठेला,
दुखेर आँउँदछ सँधै संधै,
खडेरी लागेको बेला, ।
कुलोको झगडा,
बहादुरको सँधै पालो,
शक्ति बिहिन मानिसको,
जिन्दगी संधै कालो,
घरमा आशाका पखेरु
बाबा र आमा,
छोरा छोरीले माग्छन् दशैमा नाना,
यो थोत्रो टोपीको घेरो,
बाहेक केही छैन
आफ्नो भन्नु मेरो ।
पोहोर पनि खडेरी पर्याे,
गैह्रीकाले भत्काईदिए हाम्रो कुलो
सकिएन बनाउन,
समय बितिगयो,
हाम्रो खेत बाँजो रह्यो,
आएन कुलाको पानी,
गैह्री खेतकाले लगे,
हाम्रो पालोको सबै पानी,
तिनले आफै जानी जानी, ।
साहुको ऋण टाउकामा थपियो,
सामन्तको हेपाई र हेला कति खपियो,
तै पनि फेरि,
घिसार्नु नै छ जिन्दगी,
यश पाला त पैह्राले
खेतै पनि आधा भत्कियो,
आमा बाको मुख जस्तै भयो थोतो खेत
के चबाउछ, थोतादाँतले आहारा,
यस्तै हो भने ,सकिने भो जीवनको सबै साहारा,।
केटाकेटीको रहर,
श्रीमतिको आशा
बुढाबुढीको कहर
एकै ठाउँ मिसाएर ठेकामा मोही पारे जस्तो
मदानीले घालघुल पार्दा पनि नहुने,
छुट्टा छुट्टै राख्न पनि नसकिने,
यो कस्तो जिन्दगीको जंघार,
अगाडि तर्न पनि नसकिने,
पछाडि सर्न पनि नसकिने ।
डुङ्गा चढेर बहान बहाउ भने,
सीप छैन आफ्नो डुङ्गा चलाउने,
ढुङ्गा फोर्दैमा बित्यो जवानी,
अनिकाल मा अब के गर्ने होला नि ?
कष्ट र दुःख गरिव को पेवा भो,
गरिबको गरिबीले
धनीलाई सेवा भो,
के छ र लिनु ! लानु के छ,गरिबले !!
सारा जिन्दगी साहुकै मेवा भो ।।
सुक्यो खोला पग्लेन हिउँ,
पुगेन सिन्चन उम्रेन बीऊ ।।।।।
वि.सं.२०७६ फागुन २४ शनिवार ०९:५९ मा प्रकाशित