
२५ फागुन, काठमाडौँ । रोड सेफ्टी वल्ड सिरीज अन्तर्गतको पहिलो टि–२० खेलमा भारत लेजेन्ड्स ७ विकेटले विजयी भएको छ ।
भारत लेजेन्ड्स र वेस्टइंडीज लेजेन्ड्स बिच मुम्बईको वानखेडेमा भएको खेलमा पहिले टस हादैँ वेस्टइंडीज लेजेन्ड्सले ब्याटिङ्ग गरेको थियो । वेस्टइंडीज लेजेन्ड्सले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको थियो ।
वेस्टइंडीज लेजेन्ड्सका लागि शिवनारायण चन्दरपलले सर्वाधिक ६१ रन बनाएका थिए । त्यसैगरी वेस्टइंडीज लेजेन्ड्सका कप्तान ब्रायन लाराले १७ र डेरेन गंगाले ३२ रनको पारी खेलेका थिए ।
भारत लेजेन्ड्सका लागि बलिङ्ग तर्फ जहिर खान, मुनार्फ पटेल र प्रज्ञान ओझले २–२ विकेट हात पारे भने इरफान पठानले १ विकेट हात पार्न सफल भए ।
वेस्टइंडीज लेजेन्ड्सले दिएको १५१ रनको लक्ष्य भारत लेजेन्ड्सले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
भारत लेजेन्ड्सका लागि वीरेंदर शेहवागले ५७ बलमा ७४ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी भारत लेजेन्ड्सका कप्तान सचिन तेन्दुलकरले ३६, मोहम्मद कैफले १४ र युवराज सिहंले १० रनको पारी खेलेका थिए ।
वेस्टइंडीज लेजेन्ड्सका लागि बलिङ्ग तर्फ कार्ल हुपरले सर्वाधिक २ विकेट लिएका थिए ।
वि.सं.२०७६ फागुन २५ आइतवार ०९:५० मा प्रकाशित