
२५ फागुन, काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसले १ सय ३ राष्ट्रमा प्रत्यक्ष प्रभाव पारेको छ । अप्रत्यक्ष रुपम भने सिंगो विश्वमा यस्को प्रभाव परेको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ भने संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी चीनमा रहेका छन् । त्यहाँ ८० हजार ६ सय ९६ जना संक्रमित छन् । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ । त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशन भएका छन् ।
त्यस्तै इरानमा १ सय ४५ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्यस्तै अमेरिकामा १९ जनाको मृत्यु भएको छ ।
इटाली एक करोड ५० लाख नागरिकलाई क्वारेन्टाइनमा
इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्वीट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताए । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ ।
इटालीमा कोविड–१९ कै कारण झण्डै ३३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।
यी ठाउँहरूमा सङ्ग्रहालयहरु, रात्रिक्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन् ।
वि.सं.२०७६ फागुन २५ आइतवार १३:११ मा प्रकाशित