
२५ फागुन, काठमाण्डौं । खानपानी मन्त्री बीना मगरले आठ मार्चले महिलाहरुलाई पूर्ण समानताका निम्ति निरन्तर सङ्घर्ष गर्न प्रेरित गरेको बताएकी छन् ।
अन्तराष्ट्रि श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री मगरले मार्च आठ आज पनि विश्वभरिका महिलाहरुका लागि न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षका निम्ति प्रेरणादायी दिनका रुपमा स्थापित रहेको बताएकी छन् ।
‘यस दिनले महिलाहरुको अधिकारका लागि सिङ्गो मानव जातिलाई जागृत मात्र गरेको छैन, धर्तीको आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाहरुलाई पूर्ण समानताका निम्ति निरन्तर सङ्घर्ष गर्न पनि प्रेरित गरिरहेको छ ।’ मन्त्री मगरले शुभकामनामा भनेकी छन् ।
यस्तो छ मन्त्री मगरको शुभकामना सन्देश
महिलाहरुले न्याय, समानता र स्वतन्त्रताका खातिर कठोर सङ्घर्ष गरेको दिनलाई स्मरण गर्दै ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनी साथै संसारभरिका न्यायप्रेमी महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अमेरिकाको न्यूयोर्कस्थित एक गार्मेन्ट फ्याक्ट्रीका श्रमिक महिलाहरुले १० घण्टा कामको माग राख्दै सुरु गरेको महिला आन्दोलनले आज महिला मुक्तिको व्यापक आयाम समात्दै विश्वव्यापी रुप लिएको छ । यसरी सुरु भएको महिला आन्दोलनले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमार्फत् विश्वभरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको कुरा यहाँहरु सबैमा विदितै छ । मार्च आठ आज पनि विश्वभरिका महिलाहरुका लागि न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षका निम्ति प्रेरणादायी दिनका रुपमा स्थापित छ । यस दिनले महिलाहरुको अधिकारका लागि सिङ्गो मानव जातिलाई जागृत मात्र गरेको छैन, धर्तीको आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाहरुलाई पूर्ण समानताका निम्ति निरन्तर सङ्घर्ष गर्न पनि प्रेरित गरिरहेको छ ।
नेपालमा पनि महिला मुक्तिको आन्दोलन विभिन्न आरोह–अवरोहका बीच अगाडि बढिरहेको छ । मूख्यतः १० वर्षको महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र महिला मुक्तिका लागि भएका विभिन्न सङ्घर्षहरुले नेपालका महिलाहरु राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारका क्षेत्रमा सशक्त रुपमा स्थापित हुँदैछन् । नेपालको संविधान २०७२ ले राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि महिलाहरुले गौरव गर्न लायक उपलब्धी हासिल गरेका छन् । महिलाका नाममा दर्ता भएका आर्थिक संस्थाहरुलाई विशेष व्यवस्था, निजामती प्रशासन लगायत कर्मचारीतन्त्रमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्वको व्यवस्था, आमाको नाममा नागरिक प्राप्तिको संवैधानिक व्यवस्थाजस्ता प्रावधानहरु महिला मुक्तिका दृष्टिले गौरवपूर्ण उपलब्धी हुन् ।
यद्यपि, संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि निरन्तरको खबरदारी हाम्रो जिम्मेवारी बन्न आइपुगेको छ । अर्कोतिर, धार्मिक एवं सांस्कृतिक रुपमा थोपरिएको असमानताको जाँतोबाट सिङ्गो महिला समुदायलाई मुक्त गर्दै आर्थिक एवं सामाजिक रुपमा सबलीकरण गर्ने हाम्रो जिम्मेवारीले पूर्णता पाइसकेको छैन । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिलामैत्री चिन्तन र संस्कारको विकास गर्दै पूर्ण समानताको विश्वव्यापी आकाङ्क्षा हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् । फेरि एकपटक सम्पूर्ण महिला दिदीबहिनीहरुमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।’
मिति : २५ फागुन, २०७६
बीना मगर
वि.सं.२०७६ फागुन २५ आइतवार १३:२७ मा प्रकाशित