Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

आफैमा सशक्त छन् नारी



नारी सशक्तीकरणको गह्रौंले पनि
ठ्याक्कै सिधा बनाउनु सक्दैन
पुरुषवादी समाजको कोल्टे आँगन
जहाँ पटक्कै अडिन्दैन
नारीको आत्मासम्मान ।

नारी सशक्तीकरणलाई
सबलीकरणको उकेरो दिंदै
त्यही अग्लोमा उभिएर
समानताको कुरा गर्छौ
कहाँ छ समानता !
केले नाप्छौ
नारीको सहनशीलताको उचाइ !
प्रेमको गहिराइ !
त्यागको चौडाइ !
घामको सुनौलो रङगमा रङ्गिएर
गजक्क तिमी त्यो माछा पुच्छरे हौ
जसको अहंकारले कहिले देख्दैन
फेवातालको मनको गहिराइभित्र अटाएको
आफ्नो उचाइ ।

प्रेमलाई चोखो हुनुको पनि प्रमाण माग्ने
तिम्रो दुनियाँमा
कहिले
प्रेमको नाममा नारीको भावनासँग खेलिन्छ
त कहिले
समर्पणको नाममा नारीको कुमारीत्व लुटिन्छ ।
आफ्नो तनको, मनको र कर्मको पाप पखालेपछि
दुषित र मैलीको उपाधी दिने समाजमा
सधैं गङ्गा भएर बाँचेकी नारीको
तिमीसँग के समानता !

मैलादानीमा फालिएको
मृत शिशुलाई देखाएर
केवल नारीको चरित्रलाई दोष्याउनेले
नारी सम्मानको के कुरा गर्छौ र !
जुनदिन, तिमीले
त्यो मृत शिशुको कठ्यांग्रिएको आखाभित्र
एउटी नारीको विवशता ,वेदना र समर्पणलाई पढ्न सक्छौ
जुन दिन त्यस शिशुको आँखाको पुतलीभित्र
कहिले नसकिने एउटी विवश आमाको प्रतीक्षा र
पुरुषको बिश्वासघात पढ्नु सक्ने छौ
तब गर्नु तिमीले समानताको कुरा !

सम्पन्नताको ठूलो महलभित्र
वंशधारको हैकमवाद चलाउने
सम्माननीय, महोदयर महोदयाहरुको
संगुरो मानसिकता
जहाँ अँटाउनु सक्दैन
मानव शरीरको केवल एउटा अंग
र रातको अन्धकारमा फालिन्छ
एउटा नवजात !
कुनै निर्जीव पथमा, खोला नाला र जंगलमा।
यस्तै कैयौं उज्यालो संसारको
त्यो अन्ध्यारो कालो रात नदेख्ने तिमीले
कसरी गर्छौ
नारी सशक्तीकरणको कुरा !
वासनाको ह्वारह्वारती आगो दन्काएर
नारीको चरित्रको अग्नि परीक्षा लिन बसेका
हजारौं, लाखौं रामहरुको यो समाजमा
नारीको धैर्यको
आत्माबिश्वासको
बलिदानको
कहाँ छ समानता !
केमा छ समानता !
कसरी समानता !

परिक्षाको आगोमा खारिएर
कुन्दन भएकी नारी
यो सृष्टिमा,
असमान छ
अवर्णनीय छ
अपरिहार्य छ ।

छोडी देउ बरु
नारीको कोमलताको अग्लोमा उभिएर
नारी पुरुषको समानताको कुरा !
तिम्रो सबलीकरणको खोक्रो उकेरो बिनै
नारी आफैमा सबल छन्
सशक्त छन् ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि