
२६, फागुन, काठमाडौं । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।
आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानून तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारवाही हुने चेतावनी दिएको हो ।
मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा मात्रै दबाब परेको स्पष्ट पार्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने, “खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन । कहीँ कतै पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन ।” व्यापारीले रु २० मा पाइने आयोडिनयुक्त नुनको रु ४० सम्म बिक्री गरेको, खाना पकाउने एलपी ग्यास लिन लामा लामा लाइन लागेको, मास्क तथा अन्य खाद्यउपजमा समेत कालोबजारी भएको चर्को गुनासो आएपछि आज पत्रकारसँगको भेटमा मन्त्री भट्टले केही सामानमा दबाब परे पनि सङ्कटको अवस्था नभएको बताए ।
सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कुनै पनि व्यवसायी त्यसरी प्रस्तुत भए तिनलाई जरिवाना तिराउने मात्रै नभई जेलसम्म हाल्नुपर्ने अवस्था आउनसक्ने मन्त्री भट्टको भनाइ छ । काठमाडौँ उपत्यकामा विशेषगरी गुणस्तरीय मानिएको नेपाल ग्यासमा ठूलो दबाब परेको छ । त्यसलाई हटाउने लक्ष्यका साथ नेपाल आयल निगमले मागभन्दा झण्डै दोब्बर ग्यासको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ तर उपभोक्ताले पनि सङ्कटको बेलामा के हो के भने जसरी आवश्यकभन्दा बढी ग्यासका सिलिण्डर भण्डारण गरेका कारण नयाँ सिलिण्डर नै पाउन मुस्किल परेको छ । नयाँ सिलिण्डर नभएका कारण रिफिलिङ गर्न समस्या देखिएको छ ।
सामान्य अवस्थामा ३७ हजार टन ग्यास आयात हुने गरेकामा कोरोना त्रासपछि नेपाल आयल निगमले ४५ हजार टनका लागि प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ) जारी गरेको छ । यो हालसम्मकै बढी हो । त्यसमा अत्यावश्यक भन्दै थप पाँच हजार टनको व्यवस्था गरिएको हो ।
वि.सं.२०७६ फागुन २६ सोमवार १६:२० मा प्रकाशित