
हरेक कुराले भरिपूर्ण भएपनि असन्तुष्ट हुने भनेकै मानव जाति रहेछ । आफुसँग जे छ त्यो कम देख्ने र अझैं केही पाउन दिनरात लागिपर्ने भनेकै मानव । केही कुरा पाउँदा–पाउँदै र गुमाउँदै गर्दा हरेक दिन कुनै न कुनै ठाउँमा नयाँ कुराको कहिँकतै अन्वेषण र आविष्कार भइनै रहेको हुन्छ चाहे त्यो विज्ञानमा होस्, चाहे भाषा साहित्यमा होस् यात कुनै संकार र संकृतिमा नै । हो साहित्य विधा कविताको नयाँ विधा साइनो पनि यसैको उपज भन्दा फरक नपर्ला । जुन विधाले छोटो समयमै फराकिलो आकार दिदै साहित्य अनुरागी मनमुटु मार्फत् देशविदेशमा तरंगित हुँदै गइरहेको छ । साइनो विधा नेपाली साहित्य जगतमा जन्मिनु र आफ्नो आकार दिदै अगाडी बढ्नुले यो निकट भविस्यमा विराट रुपमा फैलिनेमा दुबिधा छैन ।
मुलतः साइनो यही मिति २०७६ साल साउन १६ गते साहित्यकार तथा प्राध्यापक छायादत्त न्यौपाने ‘बगर’ ले आफ्नो फेसबुक (अनुहार पुस्तक) मार्फत सामाजिक संजालमा ७, ८, ९ अक्षरमा तीन हरफको नयाँ संरचनालाई साइनो नाम दिएर पोस्ट गरेपछि साइनोको उत्पति भएको देखिन्छ । त्यसकारण साइनोका प्रयोक्ता र जन्मदाताको श्रेय नै न्यौपानेलाई जान्छ ।
‘मान्छे छैन इमानी-७ अक्षर
न शहरमा छ धन-८ अक्षर
न त झुपडीमा पिसानी ।-९ अक्षर
यो साइनो नै पहिलो साइनो हो ।
जब साइनो फेसबुकमा देखियो त्यसपछि केशव ज्ञवालीले यसलाई पछ्याएको देखिन्छ र वहाँसँगै आदरणीय साइनोकारहरु खेमलाल पोख्रेल, हरि चौलागाईं, बाल कुमार क्षेत्री धतानन्द शर्मा, कृष्ण पौडेल, मिना डांगी, सुरेन्द्र शाही ‘गुलाव कान्छो’, बिष्णु पादुका, बद्री उप्रेती, बिनोद नेपाल, उद्दव प्याकुरेल, सीता सुवेदी पन्थी, कृष्ण बाउसे, सविता भट्टराई, प्रमोद भट्टराई, आकास पौडेल, लोक बस्याल, हेम खडका, घन थापा, टीका भण्डारी, राम आचार्य पुष्प प्रेमी, लालचन्द्र लम्साल, हरिभक्त पौडेल, सीता शर्मा, कविता घर्ती मगर, सुरेश काफ्ले ‘बिदारक’, हेमन्त तिवारी, नैना सुब्बा बराइली, बिष्णु काफ्ले लगायत धेरैजनाले लेख्दै आइरहनुभएको छ र धेरै साहित्यकारहरु साइनोमा सांलिएर साइनो लेखनलाई तिब्रता दिएको देखिन्छ । साइनोले मुलत साहित्यमा नौलोपनसँगै नेपालीपनलाई झल्काएको छ ।
क्रमशः ७ (सात) अक्षरको पहिलो हरफ, ८ (आठ) अक्षरको दोश्रो हरफ र ९ (नौ) अक्षरको तेस्रो हरफ जोड्दा चौबीस अक्षर हुन्छ र यीनै तीन हरफले फरक–फरक अर्थ दिनु र समग्र तिनै हरफको छुट्टै बृहत अर्थ दिनु यसको मुल विशेषता रहेको देखिन्छ ।
साइनो लेखनले सामाजिक संजाल फेसबुक मार्फत तिब्रता लिएसँगै साइनोको परिचय, सिद्धान्त र सुत्रबारे लेखहरु तथा साइनो प्रकाशन विभिन्न पत्रपत्रिका, अनलाइन मिडिया, एफएम र टेलिभिजन मार्फतपनि प्रकाशन र प्रसारण भएको देखिन्छ । छायादत्त न्यौपानेद्वारा साइनोको उत्पति, परिचय र सिद्धान्तका लेख क्रमशः शब्दांकुर (असोज र कार्तिक) मासिक पत्रिका, शृङ्खला साहित्यिक मासिक पत्रिका (कार्तिक), गाउँले देउराली साप्ताहिक (कार्तिक), पुस्तकालय आवाज, अग्निचक्र, शब्द संयोजन मासिक (पुस), नवप्रज्ञापन चौमासिक (माघ) काठमाडौं र ब्लास्ट राष्ट्रिय दैनिक (माघ(१८ झापा) यसैगरी इहुलाकी डट कम अनलाइन मिडिया, अरनिको र जीबहस टेलिभिजन तथा अन्नपूर्ण रेडियो (२०७६), केशव ज्ञावलीको साइनोको परिचय, उत्पति र सुत्र संसारन्यूज अनलाइन पत्रिकामा प्रकाशित (माग), खेमलाल पोखरेलको साइनोबारे लेख दैनिक झापा पोस्ट माघ ११ मा प्रकाशित, बाल कुमार क्षेत्रीको साइनोबारे लेख संसारन्यूज अनलाइन पत्रिका (काठमाडौं) मा प्रकाशन (पुस), शाही सुरेन्द्र ‘गुलाब कान्छो’ को मुलधार पोस्टमा साइनोबारे अलिकति कुरा र साइनो प्रकाशन (पुस), BRTNepal online (काठमाडौं) र badhimalikakhabar online (बाजुरा) मा ‘नविनतम साहित्य विधा साइनो बारे अलिकति कुरा’ लेख तथा साइनो प्रकाशन (पुस) र टाईम्स एफएमको कार्यक्रम संघर्ष जिन्दको काठमाडौंबाट साइनोबारे प्रसारण र विष्णु पादुकाले कोहलपुर ….एफएम बाकेँबाट साइनोबारे जानकारी तथा साइनो वाचन गरिएको देखिन्छ ।
यही मिति ०७६ माघ ११ गते काठमाडौंमा साइनोकारहरुको पहिलो औपचारिक भेला भएको देखिन्छ र उपत्यका र उपत्यका बाहिर विभिन्न साहित्यिक कार्यक्रममा साइनोकारहरुद्वारा साइनो बारे जानकारी र वाचनपनि भएको देखिन्छ । नेपाली मनमाटाले उत्पादन गरेको मौलिक साहित्यिक विधामा केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री, सुरेन्द्र शाहीसमेत धेरैपटक धेरै जनासँग बहस हुँदै आइरहेको देखिन्छ ।
सामाजिक संजाल फेसबुकमा साइनो संसार पेज खोलेर त्यसमा साइनोकारहरुका साइनोबारे जानकारी, साइनो प्रकाशन, साइनो लाइभ कार्यक्रम संचालन भएर आइरहेको छ । यससँगै कोहोलपुर बाकेँका साइनोकार बिष्णु पादुकाको पहिलो साइनो संग्रह ‘साइनो’ ०७६ फागुन २७ गते कोहोलपुरमा बृहत कार्यक्रमका माझा विमोचन भइसकेको छ । यो पुस्तक साइनोको पहिलो पुस्तको हो ।
सात महिनाभित्रै धेरै साइनो सर्जक जन्मिनु र साइनो संग्रह नै प्रकाशन भएर अघि बढ्नुले अब साइनो नेपाली साहित्य जगतमा जन्मिएर हुर्किएर विश्व साहित्यमा आफ्नो पहिचान बनाउन प्रयत्नशील रहने देखिन्छ । कविताको नयाँ विधा साइनोलाई अझै सशक्त बनाउन देशविदेशमा रहेका साइनोकार एकजुट भएर अघि बढ्नुपर्ने र साहित्यमा स्थान दिलाउनका लागि देशव्यापी साइनो साहित्य अभियान चलाउनपनि आबश्यकता देखिन्छ ।
वि.सं.२०७६ फागुन २९ बिहीवार १६:३७ मा प्रकाशित