
भगवती रानाभाट लम्जुङमा जन्मिएकी हुन् । श्री वीर भक्ति माध्यमीक विद्यालय तार्कुघाट बाट एसएलसी सकेर उच्चशिक्षा चितवन र काठमाण्डौंबाट हासिल गरेकी उनी सन् २००९ मा श्रीमान डा. मीन रानाभाटसँगै सपरिवार बेलायत पुगेकी हुन् ।
यतिबेला विश्व्यापी महामारीको रुप लिँदै विश्वका विभिन्न देशमा ६४ हजार बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरस, (कोभिड–१९) ले बेलायतको ह्यारोमा रहेकी भगवतीलाई पनि छोडेन । तर भगवतीमा एउटा उच्च मनोवल र कोभिड-१९ लाई परास्त गर्नसक्छु भन्ने आत्मविश्वासकै कारण उनी आज यसबाट मुक्त भएर घरमा आराम गरिरहेकी छन् ।
यतिबेला बेलायतमा रहेकी भगवती मात्र नभएर अमेरिका, अष्ट्रेलिया, स्पेन, पोर्चुगल, बहराइन, युएई, कुवेत लगायतका देशमा रहेका धेरै नेपालीहरु पनि यसबाट संक्रमित भएका छन् । तर, सबैले ‘मलाई कोरोना संक्रमित भयो,’ भनेर सार्वजनिक गर्न हिच्कीचाइरहेका बेला बेलायतकी भगवतीले भने नेपाली समुदायमा सचेतना जगाउनकै लागि पनि आफूमा कोरोना पोजेटिभ देखिएको दुईदिनमै अस्पतालको बेडबाटै आफ्ना शुभचिन्तकलाई नआत्तिन भनेर सन्देश दिएकी थिइन् ।
‘बेलायतमा शुक्रबार अपरान्ह सम्मको तथ्यांक अनुसार २९ हजारमा कोभिड-१९ पोजेटिभ देखिएको र ३ हजार बढीको मृत्यु भइसकेको छ । २९ हजारमा निको भएर घर फर्किएका १९१ जनामध्ये म पनि त्यहि भाग्यमानी हुँ ।’ संसारन्युजसँग भगवतीले यसरी खुसी व्यक्त गरिन् ।
उनै भगवतीले यसरी सुनाईन् संसारन्युजसँग कोभिड १९ सँग जुझ्दाको अनुभव
मलाई ९ मार्चदेखि ज्वरो आएको थियो । नर्मल भाइरल होला भनेर घरमै आराम गरे । तर, ज्वरो निको भएन । टाउको पनि दुख्यो । त्यसको ८ दिनमा म अस्पताल पुगे । अस्पतालले नर्मल चेक गर्यो र ‘तलाई केही भएको छैन सामान्य ज्वरो हो घरमै गएर आराम गर’ भन्यो । अनि म घर फर्किए । तर ज्वरो घट्दै घटेन टाउको पनि दुख्यो । पर्सिपल्ट पनि फेरि गए । त्यतिबेला छातिको एक्सरे गर्यो, छातिको देब्रेतिर सामान्य इन्फेक्सन देखिएको छ । त्यो दिन पनि ‘एन्टिवायोटिक दिन्छौं घरमै आराम गर’ भन्यो । त्यतिबेला मलाई सास फेर्न पनि अलि अप्ठेरो भएको थियो । मैले ‘मलाई गाह्रो भएको छ भर्ना गरियोस्’ भने । तर उनीहरुले मलाई कन्भिस गरेर घरमै बस्न आग्रह गरे । मलाई पहिलेदेखिनै शंका लागिसकेको थियो, लक्षण कोभिड-१९ को जस्तै थियो । त्यसैले पनि कोभिड-१९ को टेष्ट गर्न अनुरोध गरे । उनीहरुले सिनियर डाक्टरलाई बोलाएर मैले गरेको अनुरोध सुनाए । त्यसपछि मात्र कोभिड टेष्ट गरियो । तर, रिर्पोट ७२ घण्टापछि आउँछ भनेर एन्टिवायोटिक दिएर घर पठाइयो ।
एन्टिवायोटिक लिएर म घर आए तर, अर्कोदिन पनि अर्कोदिन औषधिले केही सहज हुन सकेन । अनि कोभिड १९ टेष्ट गरेको ७२ घण्टापछि मेरो रिर्पोट पोजेटिभ भएको भन्दै अस्पतालबाट फोन आयो । सोधियो–‘तिमीलाई सास फेर्न गाह्रो त भएको छैन ।’
कोभिड १९ पोजेटिभ भएको सुन्दा डर लागेन
कोभिड १९ पोजेटिभ भएको सुन्दा मलाई त्यस्तो केही डर लागेन । आकासै खस्यो भन्ने पनि भएन । छोरी फार्मासिष्ट भएका कारणले पनि होला स्वास्थ्य क्षेत्रसम्बन्धी केही जानकारी रहेको र आफूलाई पहिलेदेखि शंका लागेको कुरा पोजेटिभ देखिएको थियो । अनि आत्मविस्वास पनि थियो कि, अस्पताल पुगेपछि निको हुन्छ भन्ने । त्यसपछि ९९९ मा फोन गरेर एम्बुलेन्समा चढेर अस्पताल पुगे ।
अस्पतालमा पनि कोभिड १९ को छुट्टै युनिट थियो । म सहित ५ जना संक्रमितको उपचार भइरहेको थियो । त्यहाँभित्र पनि मास्क लगाउनु पथ्र्यो । अस्पतालमा ४ दिनसम्म बसे । त्यतिबेला २ दिनसम्म सामान्य अक्सिजन लगाएर राखियो । क्यानुलाबाट औषधि दिइयो । स्लाइन पानी दिइयो । मेरो अवस्था सामान्य नै थियो । त्यहाँ मसहित पाँचजना रहेकोमा २ जनालाई भेन्टिलेटरमै राखेर उपचार गरिएको थियो ।
भर्ना भएको दुई दिनमै कोरोना भएको सार्वजनिक गरे
पहिले त सबैलाई पिर होला भनेर फेसबुकमा लेख्न मन लागेन । तर, कोरोना भाइरस लाग्दैमा डराइ हाल्नु पर्दैन यसलाई परास्त गर्न सक्छु र सकिन्छ भन्ने हिम्मत सबैमा हुनुपर्छ भन्ने सोचेर फेसबुकमा लेखेकि थिए । घरमा आमा बुबालाई पिर पर्छ भनेर बेलायतको साढे ७ बजेतिर मात्र फेसबुकमा अपडेट गरेकी थिए । फेसबुकमा राख्नासाथ छोरीलाई फोन गरेर । ‘नेपालबाट फोन आउला तिमी सम्झाउनु हैं मलाई नर्मल छ भनेर’ सम्झाए । त्यसपछि श्रीमानले पनि कुरा गर्नु भयो उहाँले ‘फेसबुकमा राखिसकेको ? आफन्त तथा शुभचिन्तकले पिर मान्नुहुन्छ’ भन्नु भयो । मैले होइन्, यस्तो कुरा लुकाउनु हँदैन भनेर फोन राखिदिए ।
भोलिपल्ट मलाई चिन्नुहुने संसारभरीका साथीभाइ र परिवार तथा शुभ चिन्तकबाट शिघ्र स्वास्थयलाभसहितको म्यासेजहरु आएका थिए । मलाई त्यसले पनि अझै आत्मबल थप गरिदियो ।
भर्ना भएको तेश्रो दिन अक्सिजन हटाइयो
भर्ना भएको तेश्रो दिनमा मलाई मुखबाट अक्सिजन हटाइयो । क्यानुलाबाट नभएर मुखबाटै औषधि खुवाउन डाक्टरहरुले भनेको भनेर नर्सहरुले औषधि खुवाइदिए । डाक्टरहरुले चेक गरेर मेरो अवस्था ठिक भएको ठान्यो । सिनियर कन्सल्टेन्टले ‘यो औषधि लिएर घर गएर सेल्फ आइसोलेसनमा बस्न सक्छौ ?’ भनेर सोधे, मैले हुन्छ भने ।
मलाई घरमै जान पाए हुन्थ्यो र घरकै खाना खान पाए हुन्थ्यो जस्तो लागेको थियो । किन कि, त्यतिबेला अस्पतालको खाना खानै मन नलाग्ने र वान्ता होला जस्तो पनि भयो । त्यसैले पनि घर जान्छु भने । अनि अस्पताल भर्ना भएको ४ दिनमै घरमा आएर फेरि १३ दिन आइसोलेसनमै बसे । शुक्रबारदेखि मात्रै म किचनमा जान थालेकी छु ।
संयोग नै भनौ परिवारमा कसैलाई पोजेटिभ देखिएन
म अस्पतालमा भर्ना भएपछि परिवार पनि सेल्फ आइसोलेसनमा बस्यो । तर, संयोग भनौ कि के भनौं, म ज्वरो आएर सुत्दा श्रीमानले पानी पट्टी र आत्तिदा छोराछोरीले खुट्टा मिच्ने पनि गरेका थिए । तर, कसैलाई पनि कोभिड–१९ पोजेटिभ देखिएन । खोइ के रहेछ, एकले अर्कोमा सारिहाल्छ भन्ने जताततै देखिएपनि मेरो परिवारमा त्यस्तो भएन । सायद उहाँहरुमा इम्युनिटी पावर बढी थियो कि !
कोभिड १९ लाग्यो भन्दैमा नआत्तिनुहोस्
कोभिड–१९ ले अहिले संसारैभरी त्रास फैलाएको छ । तर, लाग्दैमा नआत्तिन र संयम भएर उपचार गराउन अनुरोध गर्दछु । विश्व स्वास्थ्य संगठनले दिएको गाइडलाइन फलो गर्दा नै धेरै राम्रो हुन्छ । नेपालमा पनि लकडाउन भइसकेको छ । लकडाउनको सबैले पूर्ण पालना गरौं । लकडाउन नै उत्तम विकल्प हो कोरोनालाई परास्त गर्ने । कोरोना लाग्यो भनेर आत्तिदा अन्य समस्या पनि आइदिन्छन् । जस्तै मानसिक समस्या, अन्य रोग छन् भने त्यो बढि बल्झने पनि हुनसक्छ । त्यसैले नआत्तिनु होला । भिडभाडमा नजानुहोला । मास्क लगाउनुहोला । स्वस्थ्य व्यक्तिले मास्क लगाउनु पर्दैन भन्ने जस्ता कुरा आएपनि मास्क लगाउनु नै सुरक्षित ठान्दछु । मैले आफूलाई कोभिड–१९ भएको सार्वजनिक गरेपछि अरु साथीहरुले फोन गरेर, पहिले कोरोनालाई गम्भीर नलिएपनि अहिले सर्तकता अपनाएको सुनाउनुहुन्छ । यतिबेला मलाई लागेको छ मैले जे गरे राम्रो गरे भन्ने ।
वि.सं.२०७६ चैत २३ आइतवार १५:३२ मा प्रकाशित