मान्छे कारक हुन् विनाशक यिनै हुन् रोग निम्त्याउने
मान्छे नै पशुतुल्य देख्दछु म ता संसार सिद्धाउने ।
जा जा जा परजा नआइज यता हे कालका नोकर ।
कोरोना किन ब्यर्थ बस्दछ यहाँ ठानेर आफ्नै घर ।।१
खाए मांस सबै विसाक्त नरले कीरा फट्याङ्ग्राहरू
बाँकी छैन कुनैं जनावर यहाँ खाए पचाए अरू ।
बस्नू आपसमा सदस्य घरका दूरी बनाई तर ।
कोरोना किन व्यर्थ बस्दछ यहाँ ठानेर आफ्नै घर ।।२
मान्छे देखि सतर्क मानिस भए सर्दैन रे रोग यो
धोऊँ हात सफा हुँदा पनि सरे त्यो मात्र संयोग भो ।
एकै शब्द बिसाउदा चुप हुनू मान्दैन उस्ले डर ।
कोरोना किन व्यर्थ बस्दछ यहाँ ठानेर आफ्नै घर ।। ३
हाम्रै देश धकेलियो प्रलयमा भूकम्प भो त्रासदी
बाढी औ पहिरो डुबान जति छन् नेपालकै दुर्गति ।
सारा खप्नु खप्यौं डटेर सबले भागे सबै ती पर ।
कोरोना किन व्यर्थ बस्दछ यहाँ ठानेर आफ्नै घर ।।४
आफ्नै अङ्ग छुँदा झसङ्ग नहुने भेटिन्न मान्छे यहाँ
छन् सारा डर त्रासमा सबजना हे दैव जाऊँ कहाँ ।
के भन्थ्यो विचरा कठै नियतिले भो कालले भन्छ र
कोरोना किन व्यर्थ बस्दछ यहाँ ठानेर आफ्नै घर ।। ५
कोरोनाकहर कविता शार्दूलविक्रीडित
वि.सं.२०७६ चैत २४ सोमवार ११:४५ मा प्रकाशित