प्रिया !
तिमीलाई संझिएर टिपेको फूल
तिम्रो हातमा पुर्याउन नपाउँदै
ओइलाउँदैछ खल्तिमा
चौबाटोमा तिम्रो पदचाप पर्खिएर
हेर्दैछु फुलको दर्पणमा
तिम्रो प्रतिबिम्ब
हरेक एकाकारको एकान्त समयमा
उन्नतोदर गतिमा छातीभरि मगमगाएको सुवास
स्खलित भएर सेलाए जस्तै
प्रतिक्षालयमा मुर्झाउँदैछ पुष्पपत्र
हराउँदैछ फुलको सुवास
संझदैछु
कति कमजोर हुँदोरहेछ प्रेमको वासना पनि
पत्रपत्रमा
मोती झैं फुलेको रसिलो जलवाष्प पनि
तिमी सुक्सुकाउँदा परेली सुकेजस्तै
हेर्दा हेर्दै बिस्तार सुक्दैछ
म कोशिस गरिरहेछु
तिमी आउनु भन्दा अगाडि नलत्रियोस्
चुहिदैंछन्
खुसीका तप्पतप्प आँसुहरू
मिलनको प्रतिक्षामा
घाम अस्ताउनै लागि सक्यो
पश्चिम रातो हुँदैछ
सूर्य स्वयं सेलाउँदै छ
यस्तो बेलामा पनि उत्सुक छु
परन्तु
उज्यालो आँखा बाटोमा ओछ्याउँदा ओछ्याउँदै
बिछिप्त छ मन
कुनै सकसमा पर्याै कि ?
उज्यालो घट्दै छ
बढदैछ उराठिलो समय
चिमोट्दै छ भित्रभित्रसम्म मुटु
आफैभित्र शंका गरेर
अनिष्टको
छाती गाँठो परेर समाइरहेछ घाँटी
स्वास फेर्न सकिरहेको छैन म
पत्थरले थिचे झैं
गह्रौभारी बोकेर उभिए झैं भएको छ
यो फूलको थुँगा
अचम्म लाग्छ
प्रतिकुल परिस्थितिमा
एक थुंगा फूल पनि
बिशाल पत्थरको भारी जस्तो
गह्रौं लाग्ने रहेछ
प्रिया !
तिम्रो प्रतिक्षामा छु
आँसु बगाएर बाटो हेर्न सक्दिन
हाँसेर हेर्दै गर्दा अन्धकार हुन लागिसक्यो
छेउको रुखमा चराहरू कराउन लागिसके
खलबलिएको छ
शुन्यता
रेटिएर पनि आवाज ननिस्केको सितार जस्तो
कहाँ अबरुद्द छ प्रेम संगीत
खोजिरहेछु प्रतिक्षालय अगाडिको बाटोमा
लेख्दैछु सेतो पानामा
यि रगतका छिटाहरूले तिम्रो नाममा पत्र
बिन्ती
ल्यापटपको पर्दामा इमेल सेन्डिगं हुँदैछ
अन्तिम पल भयो
म बिदा भएँ
पूर्णिमाको उज्यालोमा तिमी आइपुगे
तिमिमै समर्पित यो एक थुंगाफूल
प्रतिक्षालयको पूर्वी किनारमा हेर
बिन्ति ! मेरो घृणामा नै सही
ओइलिए कै सही
वासना नै मरेको भएपनि अन्तिम संझना हो
एकपटक चुमेर
सदाको लागि कुल्चिदिनु ।
वि.सं.२०७६ चैत २४ सोमवार ११:४८ मा प्रकाशित