२६ चैत, बुटवल । कोरोना अस्पतालमा मृत्यु भएका पाल्पाका बाबुराम थापाको शब ११ दिनपछि परिवारले बुझेको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका ५ कुसुमखोला सैटोलाका बाबुराम थापाको प्रदेश नं ५ को प्रादेशिक कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएको भनिए पनि उनको कोरोना परीक्षण रिर्पोट नेगेटिभ देखिएको मृत्यु पश्चात स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको थियो ।
उपचारका क्रममा चैत १६ गते उनको मृत्यु भएपछि परिवारले अस्पतालले उपचारका क्रममा लापरवाही गरेको भन्दै शब बुझ्न नमानेपछि ११ दिनसम्म शब अस्पतालमै राखिएको थियो । बुधबार त्यस क्षेत्रका सामाजिक अभियन्ताहरुको संयुक्त पहलमा पीडित परिवार पक्ष र प्रदेश सरकार पक्षबीच भएको लगातारको छलफल र त्यसैका आधारमा निम्न निर्णयहरु गरेपछि आफन्तले शब बुझ्न राजी भएका हुन् ।
-उक्त निर्णयमा मृतककी श्रीमती २७ वर्षीया रिता थापालाई रुपन्देहीको सैनामैना नगरपालिका वा बुटवल उपमहानगरपालिका क्षेत्रमा सरकारी निकाय अन्तर्गत स्थायी प्रकारको योग्यता अनुसारको रोजगारीको व्यवस्था गरिने । ( देशको स्थिति सामान्य भएपछि) ।
-थापाका नाबालक छोराछोरीलाई उच्च शिक्षासम्मको गुणस्तरीय शिक्षा दिक्षाको निःशुल्क व्यवस्था गरिने ।
-मृतकका परिवारलाई तत्काल विशेष आर्थिक सहयोग गर्नका लागि पाल्पाली समाज र रिप्दीकोट गाउँपालिका वडा नं ५ समन्वयमा पुर्वविधायक विनोद पहाडि, समुद्र जिसी, जगत पोखरेल र पदम बहादुर कार्कीको संयुक्त पहल तथा जिम्मेवारीमा राहतकोष स्वरुप पाँचलाख ५० हजारको कोष स्थापना गर्ने, त्यसमा विभिन्न संघ संस्था महानुभावसँग सहयोगको लागि अपिल गर्ने ।
-मृतक बाबुरामक थापाको शबको दाहसंस्कार गर्न मृतकका आफन्तलाई प्रदेश सरकारले उचित प्रवन्ध मिलाउने ।
-आर्थिक सहयोगतर्फ शंकर टंडन, जिम्मा रु १ लाख ५० हजार, माधव थापाको जिम्मामा (परिवारका तर्फबाट) १ लाख, गोपाल पोखरेल १० हजार, राधिका खरेल ११ हजार १११, बसन्त कुँवरबाट रु २० हजार गरी जम्मा आठ लाख ४१ हजार १०० जम्मा हुने निश्चय गरिएको छ ।
उक्त छलफलमा मृतकका आफन्त तथा दाजाुभाइ माधव थापा, विष्णु थापा, जंग बहादुर थापा र मृतककी श्रीमतीका माइतीतर्फका शंकर टन्डन, कमल टन्डन, चन्द्र प्रसाद पन्थ, आफन्त गणेश थापा, दिल बहादुर कार्की, संजय खत्री रहेका थिए । साथै अन्यमा जगत पोखरेल (युवा उद्यमी), गोबिन्द खनाल (मानब अधिकारकर्मी), बिक्रम खड्का (संचारकर्मी), बिनोद पहाडि, समुद्र जीसी र पदम बहादुर कार्कीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका बुटवलका युवा उद्यमी जगत बहादुर पोखरेलले यति लामो समयसम्म शब अस्पतालमै राख्नु परेकोमा दुःख व्यक्त गर्दै थापाका परिवारको सहयोगका लागि आफूले कुनै कसर बाँकी नराख्ने संसारन्युजलाई बताए ।
स्मरण रहोस्, चैत ६ गते दुवईबाट फर्किएका बाबुराम थापा ७ गते सैनामैनास्थित आफ्नो घरमा पुगेका थिए । घरमा पुग्दा ज्वरो आएका उनी घर पुगेर पनि छुट्टै बसेको श्रीमती रिताले बताएकी छन् । पछि एक्कासी ज्वरो बढ्दै गएपछि मुर्गिया अस्पतालमा जाँच गराउँदा टाइफाइड देखिएको थियो । टाइफाइडको औषधि खाँदा पनि निको नभएपछि एकसातापछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेका थिए । त्यहाँ ज्वरो देखिएपछि उनलाई कोरोना संक्रमणको आशंकामा कोरोना विशेष अस्पतालमा पठाइएको थियो । त्यहाँ पुगेको दुईदिनमै उनको मृत्यु भएको थियो । कोरोनाको आशंका गरेर श्वाव परीक्षणका लागि काठमाण्डौं पठाइएको थियो । श्वावको रिर्पोट नआउँदै उनको मृत्यु भएको थियो ।
वि.सं.२०७६ चैत २६ बुधवार १८:०२ मा प्रकाशित