निर्दयी सुरूङ्गको छाती टेक्दै
हामी मृत्युको शहरहरूदेखि केही गज मात्र टाड़ो छौं
लाग्छ जिन्दगी लिलाम गर्न
हामी लामबद्ध भएर एउटा लश्करमा खडा छौं ।
भौतारिएर हिडीरहेका हाम्रा
पयरहरूले कुल्चेका बालुवाको छाती
हामीले बनाएका बेनाम डामहरू
भर्खरै आएको मृत्युको भुईँचालोले तहस नहस पारेको छ ।
वुहान शहर लाशहरूको
थाकमाथि उभिएर सिनो गनाइरहेछ
र
चिहाई रहेछ इटलीको गल्लीहरू
त्यसको राता राता आँखाले हेरिरहेछ
अरू देशहरू पनि
डाक्टरहरू नर्सहरू युद्धमा होमिएका छन्
जिन्दगी बन्धकी राखेर
मान्छेसित रिसाएको छ पृथ्वी
स–साना पृथ्वीहरूका आवृतिहरु
पिठ्युँमा काडाहरू उमारेर
हामी भएतिर गुड्दैछ…
त्यसले भीड़हरूमा हिर्काउँछ
र छताछुल्ल पार्छ
तितर वितर पार्छ
जिन्दगी जिउने मान्छेहरूको सपना ।
अहिले ईश्वर नपत्याउने नित्सेहरू
मास्क पहिरेर
ट्वाङ …
ट्वाङ…विरक्त लाग्ने गरि
घंटी बजाई रहेछन्
तुरही फुकी रहेछन्
शंख बजाइ रहेछन्
घुडा टेक्दै चुपचाप बरबराईरहेछन्
लाग्छ उनीहरू प्रार्थनामा
भनिरहेछन्- जिन्दगीले पटक्क हार्न हुँदैन ।
कफीसप
सिनेमा हल
बसस्टप
स्कुल
सडक
सब सब लकडाउन पारेर
अहिले हामी लुकेका छौं ।
अहिले हामी
घरको झ्याल ढोका थुनेर
मास्क लाएर सेनिटाइज्ड भएर
घरभित्र चुपचाप छौं
भीडहरू देखि एकान्तमा
र
चिहाई रहेका छौं
घाम र जून ।
आकाशसित सुरताएको छ
तलतिर बग्ने खोला
खेत फूल रूख पात्
हामीले हाँस्दै गुनगुनाउने गीत
सब सब संक्रमित भएको छ ।
संक्रमणले गर्दा
हामी क्वारेन्टाइनमा छौं
हामीसित
समयले दिएको घाउ छ
र छ फेरी चाडै निको हुने एक त्यान्द्रो आशा
जीवनको ।
वि.सं.२०७६ चैत २९ शनिवार ०९:१७ मा प्रकाशित