सबैले भन्छन् हामीलाई
तिमीहरू साना नानीहरू
भोलि यो देशका कर्णधार
बन्नुपर्छ रे हामी ।
म सानो बालक
अझ भनौँ, म एक किशोर
सोचिरहेछु
कसरी बन्ने होला ?
देशभक्त कर्णधार हामी ।
मेरो देशमा त,
माटो पनि बेचिएको छ रे
नदी पनि अरूलाई दिएको छ रे
वनजंगल मासिएकै छन्
डाँडापाखा नाङ्गै छन्
भीरपाखा मरुभूमि जस्तै
भा’का छन ।
खै कसरी बन्ने होला म
माटो प्रेमी
राष्ट्रभक्त नागरिक भोलि ।
मेरो देशमा त
अमूल्य जडिबुटी सितैमा
विदेश जान्छन् रे
औषधी बनेर फेरि यही देशमा
महंगोमा आउछन् रे
गाउँ छाडी शहर पस्ने
मान्छे बढेका छन् रे
शहर पनि खाली बनाएर
युवा युवती विदेश गा’छन् रे
मेरो देशमा त
छिमेकीहरू आएर बसेका छन् रे
नागरिकता उनैलाई दिन्छन् रे
खै कसरी बन्ने होला म
यो देशको नागरिक
माटो प्रेमी कर्णधार ।
हामी साना नानी
खै कसरी सिक्नु राम्रा बानी
कसले सिकाउँछ हामीलाई
राम्रा कुरा
असल कुरा
देश भक्तिका कुरा
माटो प्रेमका कुरा
यहाँ त ज्ञान दिनेहरू नै
अज्ञानी बनेका छन्
रक्षकहरू नै राक्षस बनेका छन्
ज्ञान दिने गुरु
चेलीको बलात्कार गर्न गर्छन् शुरु
नेताहरू देश बचाउन भनेर
भोट माग्छन्
हत्या बलात्कार गर्छन्
भ्रष्टाचारमा अगाडि बढ्छन्
घुस यिनीहरू नै खान्छन्
मेरो देशमा त,
नागरिकताको के कुरा
वाल परिचयपत्र पनि
बेचिन्छ रे
वाल अधिकारको कुरा गर्ने बाटै
वाल हिंसा मच्चाइन्छ रे
वाल संरक्षण गृहमै
वाल यौन शोषण गरिन्छ रे
खै कसरी बन्ने होला
असल र सभ्य नागरिक भोलि
यस्तो शिक्षा लिएर ।
मेरो देशमा त
आजभोलि सगरमाथा पनि
माउन्ट एभरेष्ट मात्र भा’छ रे
नेपाली भाषा ऐच्छिक
अंग्रेजी अनिवार्य छ रे
कृषि प्रधान देश मेरो
अन्न फलफूल सबै
विदेशबाटै ल्याउनुपर्छ रे
माछा मासु पनि
बाहिरै बाट आउँछ रे
खै कसरी बन्ने होला म
भोलि कृषि वैज्ञानिक
उद्यमी कृषक
व्यवसायीक पशुपालक ।
देशका कुरा यस्तै सुन्छु
घरमा पनि यस्तै छ वातावरण
मेरै वाले मलाई
रक्सि चुरोट खालास
भाङ् धतुरो छोलास् भन्नुहुन्छ
आफू भने गन्हाउँदै
लड्दै कराउँदै मध्यरातमा
घर आउनु हुन्छ
मेरी आमाले ठूली दिदीलाई
धेरै नक्कली नबन भन्नुहुन्छ
उत्ताउली हुनुहुन्न भन्नुहुन्छ
आफू भने
बुढेसकालमा मिनी स्कर्ट लगाउनु हुन्छ
भोज र पार्टीमा गएर तास खेल्नुहुन्छ
सधै सधै व्यूटि पार्लर धाउनुहुन्छ
मेरो राजा भन्दै फेसबुकमा पोष्ट्याउनु हुन्छ
खै कसरी बन्ने होला म
यो देशको संस्कारी नागरीक
असल सन्तान र सपुत
राष्ट्रको छोरा ।
कथा अझै छन्
मेरा घरका
दाइ दिदी कुलतमा फसेका छन्
आमाबुवा अलग–अलग कोठामा बसेका छन्
बुबा गलफ्रेण्ड बनाउँदै हुनुहुन्छ
आमा ब्याइफ्रेण्डसँग डेटिङ् मिलाउँदै हुनुहुन्छ
दाइदिदी आफ्नै संसारमा छन्
म विचरा कान्छो भाइ
फुच्चे, एक किशोर
खै के सिकौँ म
को बाट, असल नागरीक बन्ने कुरा ?
सबैले हामीलाई भन्छन्
राम्रा कुरा सिक्नुपर्छ
असल मान्छे बन्नुपर्छ
देश तिमीहरूले काँधमा बोक्नुपर्छ
कर्णधार हौ तिमीहरू भोलिका
त्यसैले सभ्य र संस्कारी बन्नुपर्छ
तर,
कसरी बन्नु संस्कारी
कहाँ छ संस्कार सिकाउने स्कूल
यहाँ त,
नराम्रो मात्र देख्नु पर्या छ
भोग्नु पर्या छ
सिक्नु पर्या छ
अनि,
कसरी बन्नु हामी देशका कर्णधार
कोहीसँग समाधान भए भनिदिनुस्
हामी वालबालिकाका अधिकार ।
वि.सं.२०७७ वैशाख १३ शनिवार ०९:५१ मा प्रकाशित