१४ वैशाख, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्माको पहलमा बन्दाबन्दीका कारण नेपालगञ्जमा अलपत्र मजदूर तथा विद्यार्थीको उद्धार गरिएको छ ।
नेपालगञ्जमा अलपत्र एक सयभन्दा बढी मजदूर तथा विद्यार्थीलाई नेता शर्माको पहलमा उद्धार गरी रुकुम(पश्चिम) पठाइएको छ । नेता शर्माले रुकुम चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासँग समन्वय गरेर बन्दाबन्दीका कारण नेपालगञ्जमा अलपत्र रुकुम(पश्चिम)का मजदूर र विद्यार्थीलाई उद्धार गरी त्यसतर्फ पठाइएको अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्रजङ्ग शाहले जानकारी दिए । उनका अनुसार शुक्रबार ६२ मजदूर र शनिबार ३५ विद्यार्थीलाई रुकुम (पश्चिम) पठाइएको छ ।
नेपालगञ्जबाट मजदूरीका सिलसिलामा रुकुम पुगेका ३० मजदुरलाई समेत चौरजहारी नगरपालिकाको समन्वयमा नेपालगञ्ज ल्याउने काम भएको छ । रुकुम (पश्चिम) सँगै कर्णाली प्रदेशका सल्यान, रोल्पा, प्युठान, जाजरकोट, हुम्ला, कालीकोट, दैलेखलगायत जिल्लाबाट अध्ययनका सिलसिलामा बाँके आएर अलपत्र परेका विद्यार्थीलाई पनि सम्बन्धित जिल्लासम्म पठाउनका लागि समन्वय भइरहेको विद्यार्थी नेता शाहको भनाइ छ । बन्दाबन्दीका कारण अलपत्र नागरिकलाई बाँकेका स्थानीय तहले पनि खाना खुवाउने र आफ्नो सीमासम्म पु¥याउने व्यवस्था मिलाउँदै आएका छन् ।
बन्दाबन्दी बढेपछि ज्याला मजदूरी, रोजगारी र पढ्ने सिलसिलामा काठमाडौंँलगायत विभिन्न जिल्लाबाट घर फर्कने सर्वसाधारण सडकमा भोकभोकै हुन थालेपछि राजमार्गसँग जोडिएका स्थानीय सरकारले उनीहरुलाई उद्धार तथा राहतमा साथ दिन थालेका हुन् । बाँकेका राप्तीसोनारी, कोहलपुर र बैजनाथ गाउँपालिकासँग राजमार्ग जोडिएको छ । यी तीनै स्थानीय सरकारले तीन दिनदेखि सडकमा अलपत्र यात्रुलाई खाना खुवाउने र आफ्नो सीमासम्म पु¥याउने व्यवस्था मिलाउँदै आएका छन् ।
कोहलपुर नगरपालिकाले अलपत्र यात्रुलाई स्थानीय सङ्घसंस्थासँग समन्वय गरेर छिमेकी स्थानीय तहसम्म पु¥याउँदै आएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार कोहलपुरसम्म आइपुगेका पैदल यात्रीलाई पश्चिममा बाँके र बर्दियाको सीमा क्षेत्र मानखोलासम्म तथा उत्तरमा सुर्खेत र बाँकेको सिमाना बबईसम्म पु¥याउने व्यवस्था मिलाइएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकासँग समन्वय गरेर अलपत्र नागरिकलाई पठाउने गरिएको छ । (रासस)
वि.सं.२०७७ वैशाख १४ आइतवार १९:४१ मा प्रकाशित