१५ वैशाख, काठमाडौँ । देश कोरोना भाइरस(काभिड १९)का कारण ३५ दिनदेखि लकडाउनको अवस्थामा छ । आर्थिक अवस्था जटिल बनिरहेको अवस्थामा सत्तापक्ष आन्तरिक विवादमा फसेको छ भने प्रतिपक्षी दलहरूले सरकारविरुद्धको मोर्चाबन्दीमा जुटेका छन् ।
प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपाबीच बनेको मोर्चाबन्दीले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिँदै सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका तर्फबाट उपेन्द्र यादव र शरतसिंह भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रकाशचन्द्र लोहनीद्वारा जारी संयुक्त विज्ञप्तिमा सरकारको यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।
बैठकले समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको अपहरण सरकारकै संलग्नतामा भएको ठहर गर्दै अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको संलग्नतामा भएको त्यस्तो कार्यलाई अपराधिक कार्य भनेको छ । उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरिएको छ ।
सरकारले कोरोनाबाट अर्थतन्त्रमा पर्ने नकरात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र ठोस कार्ययोजना बनाउन नसकेको आरोप लगाउँदै यस अवस्थमा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्ततु गर्न माग गरिएको छ । बैठकले कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको ढिलासुस्तीमा तिब्रता दिन पनि माग गरिएको छ ।
सोमबार बसेको बैठकमा कांग्रेसका सभापति देउवा, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, सशांक कोइराला, प्रकाशमान सिंहलगायतको सहभागिता थियो । जनता समाजवादीका तर्फबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो तथा राप्रपाका तर्फबाट प्रकाशचन्द्र लोहनीको सहभागिता थियो ।
वि.सं.२०७७ वैशाख १५ सोमवार १९:४४ मा प्रकाशित