१८ बैशाख । रत्ननगर नगरपालिकाको व्यस्त टाँडी बजार चोकमा पैदलयात्रु आकाशेपुलको निर्माण हुने भएको छ ।
बाग्मती प्रदेश अन्तर्गत चितवनको रत्ननगर व्यस्त बजारमा निर्माण गरिने आकाशेपुलको निर्माणका लागि रत्ननगर नगरपालिकाका नगरप्रमुख तथा नगर उपप्रमुखको उपस्थितीमा शिलन्यास गरिएको हो ।
रत्ननगर नगरपालिकाको अति व्यस्त व्यापारिक केन्द्रको रुपमा परिचित टाँडी बजार क्षेत्रमा नगरवासीहरुलाई सडक दुर्घटनाबाट बचाउनु नगरपालिकाको प्रमुख दायित्व भएको हुनाले सो आकाशेपुल निर्माण गर्न लागिएको कुरा नगर प्रमुख नारायण वनले जानकारी दिए । यसको साथै आगामी समयमा अति व्यस्त व्यापारिक केन्द्र सौराहा चोक र बकुलहर चोकमा पनि निर्माण गरिने लक्ष्य रहेको बताए ।
उक्त पैदल यात्रु आकाशेपुल निर्माणार्थ सम्झौताको लागत २ करोड ४२ लाख १४ हजार ५३३ रुपैंया ४६ पैसा रहेको छ । त्यस्तै गरी निर्माण निश्चित क्षेत्रमा बिजुलीको तारहरु भूमिगत गर्ने कार्यको लागि ४० लाख बजेट विनियोजन गरीएको छ भने योजनाको सम्पन्न हुन्जेल सम्मको कुल निर्माण लागत २ करोड ६१ लख ८७ हजार ५ सय ९९ रुपैंया ६९ पैसा रहेको कुरा रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले जानकारी दिए ।
२०७७ असार २४ गते सम्म सम्पन्न गरिसक्नु पर्ने शर्तमा सो निर्मांण कार्यको ठेक्का हिम सगरमाथा कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले लिएको छ । सो शिलान्यास कार्यक्रममा निर्माणस्थल वडाका वडा प्रमुख तिलकराज शर्मा र शंकर लामाको पनि उपस्थित रहेको थियो ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार १६:१३ मा प्रकाशित