नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाइले कृषि बिनाको आर्थिक विकास बेतुकको कुरो रहेको बताएका छन् ।
लकडाउनका बेला गाउँमा रहँदा आफूूले कृषि पेशा र कृषकलाई राम्रोसँग चिन्ने अवसर पाएको भन्दै उनले कृषि नै आर्थिक विकासको मुख्य मेरुदण्ड भएको बताएका हुन् । उनी भन्छन् ‘कृषिलाई छाडेर आर्थिक बिकास र किसानलाई छाडेर सम्बृद्धीका योजना निर्माण नेपालका लागि बेतुकका कुरा हुन् ।’
१७ बर्षको उमेरमै गाउँ छाडेर विद्यार्थी हुँदै राजनीतिका कारण गाउँको बसाइ पर्याप्त हुन नपाएकोले किसानका समस्या र कृषिलाई ढिलो गरी बुझ्न पाएको पाएको पनि उनले बताएका छन् ।
उनले भनेका छन् :
शहरमा बस्दा झरीको महत्व र यसले निम्त्याउने समस्याबारे उति वास्ता गरिएन । यता गाउँमा किसानको लागि ठूलो झरी बाली लगाउनु अगाडी स– सानो उत्सव र बाली उठाउनु अगाडी कठोर दण्ड जस्तै हो । कताको कस्तो बादलले आकाशे पानी पर्छ भन्ने किसानी हिसाब पनि विद्वान मौसमविद्को भन्दा बढ़ी गजबले मिल्दो रहेछ । एउटा किसान भित्र एउटा इन्जीनियर पनि हुँदो रहेछ । कसरी खेतबारीका कान्ला लगाउने, कसरी कता फर्केको कति हातका घर गोठ बनाउने त्यसको स्वयं फैसला गर्ने र कार्यान्वयन गर्ने ऊ आफैं रहेछ । परिवार र बस्तुभाउ मात्र हैन, खेती पातीमा लाग्ने कयौं रोगहरुको घरेलु उपचार गर्ने किसान डाक्टर पनि रहेछ । बिउ बिजन, मलखाद, हलो जुवा साराको स्वयम् व्यवस्था गर्ने किसान अनेकौं कुराहरुको ज्ञाता हुँदोरहेछ । किसानले व्यवस्थित घर चलाएको छ र उ समाजमा पनि अगुवा छ भने ऊ एक असाधारण प्रतिभा हो, भन्ने मलाई लाग्न थालेको छ ।
म गाउँमै जन्मे हुर्केर १७ बर्षको उमेर देखि घर छाडेर पढाइ अनि राजनीतिमा लागें । बिदेश तिर जाँदा एक महिना भन्दा बढी कुनै पनि देशमा बसेको छैन् । हरेक दशैंमा गाउँमै आउँछु । गाउँ र जिल्लाका मुख्य कार्यक्रमहरुमा सामान्यतः सहभागी छु । शहर बस्दा कुनै न कुनै रुपमा गाउँसँग जोडिएकै छु । गाउँसँगै म अभिन्न नै छु भन्ने मेरो बुझाइ थियो । तर लकडाउनको समयमा किसानको रुपमा पुरा दिन र दिनका दिन काम गर्दा म गाउँ र किसानलाई नयाँ ढंगले बुझ्न थालेको छु । कृषिलाई छाडेर आर्थिक बिकास र किसानलाई छाडेर सम्बृद्धीका योजना निर्माण नेपालका लागि बेतुकका कुरा हुन् ।
कम्युनिष्टहरुले भनेको श्रम शिवीर एक गजबको असल कुरा रहेछ जसले फजुल बिचार बोकेर सिंगौरी खेल्न खोज्ने मान्छेलाई वास्तविकताको जÞमीनमा टेकाउने रहेछ । राजनीति गर्ने हरेक नेता कार्यकर्ताले नियमित रुपमा कम्तिमा एक महिना श्रमशिविर गरे देशको साँच्चै विकास हुने रहेछ ।
आज भर्खरैबाट मेरो गाउँमा झरी पर्दैछ ।”
वि.सं.२०७७ वैशाख २५ बिहीवार १५:३४ मा प्रकाशित