७ मे । भारतको आन्ध्र प्रदेशको विशाखापत्तनमको एलजी पोलिमर प्लान्टमा बिहीबार रासायनिक ग्यास चुहावटका कारण १३ व्यक्तिको मृत्यु भएको छ ।
विविसीले समाचारमा जनाए अनुसार ३०० बढी मानिसहरुलाई अस्पतालमा भर्ना गरिएको छ । सयौँ व्यक्तिहरुलाई नजिकको क्षेत्रबाट हटाइएको जानकारी प्रहरीले दिएको पनि समाचारमा उल्लेख छ ।
बिहीबारको बिहान प्लान्टबाट स्टेरिन ग्याँस चुहिँदा आसपासका गाउँका मानिसहरू निदाइरहेका थिए । ग्रेटर विशाखापट्टनम नगर निगमका आयुक्त श्रीजना गुमलाले ट्वीटरमा लेखेका छन् ‘सयौं व्यक्तिहरुको शरीरभित्र सासमार्फत ग्याँस पसेको छ । यसका कारण मानिस या त बेहोश अवस्थामा छन् वा सास फेर्न समस्या भइरहेको छ ।
विशाखापत्तनमका पुलिस सहायक आयुक्त स्वरूप रूणीका अनुसार सो क्षेत्र आसपासबाट करिब १५०० जनालाई सुरक्षित स्थानमा लगिएको छ । नगरपालिकाका अनुसार ‘प्लान्ट नजिक करिब तीन किलोमिटर क्षेत्र जोखिमले भरिएको छ ।’
ग्याँस चुहावट हुनुको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । प्लान्टको व्यवस्थापन विरूद्ध एफआईआर दर्ता गरिएको बताइएको छ ।
वि.सं.२०७७ वैशाख २५ बिहीवार १७:४७ मा प्रकाशित