२६ बैशाख, भारत । भारतको महाराष्ट्रमा रेलको लिकमा किचिएर १६ मजदुरको दर्दनाक मृत्यु भएको छ । उनीहरु आप्रवासी मजदूर भनिए पनि कुन देशका भनेर खुलाईएको छैन ।
महाराष्ट्रको औरंगावादको नजिक करमाड रेल स्टेसनको नजिक रेलवे ट्रयाकमा थकाई मारिरहेका १६ मजदूरको मालबाहक रेल गाडी किचेर मृत्यु भएको समाचार भारतीय संचारमाध्यमले लेखेका छन् । मजदूरले आफ्नो साथमा रोटि पनि बोकेका थिए । तर, रोटि रेलको लिक बाहिर थियो भने उनीहरुको शब रेलको लिकभित्र रहेको थियो ।
उनीहरुमध्ये ५ घाईतेहरुको अस्तालमा उपचार भइरहेको छ । घटनाको समयमा उनीहरु रेलको लिकमा सुतेका थिए । रेलका ड्राइभरले मजदूरलाई देखेर बचाउने कोशिष गरेपनि नसकिएको बताइएको छ । उनीहरु ४० किलोमिटर हिँडेर रेल चढ्नका लागि औरंगावाद जाने बेलामा त्यस्तो घटना भएको बताइएको छ । घटना शुक्रबार विहान स्थानीय समय ५ :१५ मा भएको थियो ।
मध्य प्रदेश र महाराष्ट्र सरकारले घटनामा मृत्यु हुनेहरुको परिवारलाई ५-५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेको छ ।
जालनामा रहेको एसआरजे कम्पनीमा कार्यत ती मजदुरहरु मध्ये १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईको केही समयपछि मृत्यु भएको बताइएको छ । घाईतेमध्ये १ जना गम्भीर रहेको तथा उनीहरु मध्यप्रदेशको शहडोल र उमरियाका रहेको पनि भास्कर डटकमले लेखेको छ । उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १२:५७ मा प्रकाशित