अग्ला छन् कति टाकुरा तर यहाँ,बिर्सेर को बस्छ र ?
आमाका शिशु माकुरा उदरमा पालेर केको भर ?
छोराको भर हुन्नता यदि भने, बन्ला र के देश यो ?
बारी,खेत,गराहरू पनि सबै, बेचेर कुम्ल्याइयो ।।१ ।।
बाली पाक्न नपाउँदै किन यहाँ,मूसाहरू बढ्दछन् ।
झाँक्री प्रेत बनी नकाब जहिले फेरेर तर्साउँछन् ।
चिन्ता छैन कतै गरूँ म भर के रु तात्दैन तावो जब ।
ताते व्यर्थ हुनेछ जो बिँड जहाँ,राख्दैन माने तब ।।२ ।।
लाएमा पगरी बडो हुन पुगे, आडम्बरै मात्र हो ।
बत्ती पो अब चन्द्रको नजिकमा, राखेर बेकार भो ।
हाम्रा शैलहरू अझै अटल भै, सर्वत्र प्रख्यात छन् ।
हुन्नन् यी कहिले कुनै मुलुकका, जो विश्व विख्यात छन् ।। ३ ।।
माछा रुङ्न तलाउका नजिकमा,राखे बकुल्लाहरू ।
भोको बाघ अगाडि पर्दछ भने बाँच्लान् र ?चल्लाहरू ।
जो छन् रक्षक ती स्वयम् पनि भए,सर्वत्रका भक्षक ।
भ्यागुत्तो किन राख्छ रक्षक बनी, आफैँ बन्यो तक्षक ।। ४ ।।
सारा रत्न हिमालका शिखरमा,चम्काउँदै चम्किऊन् ।
चुम्ने हिम्मत साहसी पदहरू, लम्काउँदै लम्किऊन् ।
मेरो देश सदा सदा रहिरहोस्, हाँसेर बाँची रहोस् ।
गुच्छा फूलहरू फुलाउन सकूँ गाँसेर माला बनोस् ।।५।।
छन्द : शार्दूलविक्रीडित
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:३२ मा प्रकाशित