२८ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न सरकारसँग माग गरेको छ ।
आइतबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै सिमाना रक्षाका लागि सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह गरेको हो ।
ज्ञापनपत्रमा सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन पनि सरकारलाई आग्रह गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले गत मंसिरमा भारतले नेपाली भूमि अतिक्रमण गरी सार्वजनिक गरेको राजनीतिक नक्सा खारेजी र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विश्व मानव जगत कोरोना भाइरसद्वारा आक्रान्त भएको समय छोपेर इतिहासका तथ्य तथा प्रमाणहरुलाई समेत कुल्चँदै असल छिमेकीको सम्बन्धमा समेत प्रश्न उब्जाउने गरी भारतले बिस्तारवादी रबैया देखाएको भनिएको छ । भारतको विस्तावादी रबैया सुगौली सन्धिको समेत विरुद्धमा भएको र उक्त सन्धिअनुसार महाकालीको नदीको पूर्व, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको कुरा स्पष्ट भएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
वि.सं.२०७७ वैशाख २८ आइतवार १८:०७ मा प्रकाशित