
आधुनिक विकसनको
अमानवीय पर्खाल भित्र
उनले आफ्नो अस्तित्व
बचाएको छ
उनि चाहन्छिन् त्यो कालो
पर्खाल भित्रको मरेको
आशाहरुले फेरि साँस फेरोस्
र चाहन्छिन् उनको गर्भको
एक–एक थोपा रगतले
उज्यालो बिहानिको
रातो घाम झै त्यो
अन्धकारमा प्रकाश भरोस् ।
जसरी, कालो रात र
उज्यालो बिहानी बिचको
मिर्मिरे प्रहरमा अल्झिएको छ
उनको एकमुट्ठी जिन्दगीको स्वाँस
उनी चाहन्छिन् उनको मातृकोखको
रगत सम्झौताको साङ्लोले नबाँधोस्
जसरी उनको मुखबाट निस्केको
हरेक शब्दहरुलाई दायित्वको
साङ्लोले बाँधिएको छ ।
उनको झिनो शरीरबाट निस्केको
अविरल ममताको खोला नसुकेसम्म,
उनि आफ्नो सन्तानलाई नै
जीवन सम्झन्छिन् भने
कहिले सुख्खा जमिन सरह
संसारलाई आफ्नो सन्तान सम्झिन्छिन्
उनी चाहन्छिन् उनको गर्भनालले
ती अमानवीय पर्खालदेखि
मानवीयताको घमैलो दिनसम्म
पुर्याउने साँघु बनोस्
र धकेलोस् हजारौं आशाको
मलिन हाँसोहरुलाई सभ्यताको बस्तीतिर ।
उनी त बस यहि चाहन्छिन् कि
उनको सीमाहिन ममताको
स्वतन्त्र आकाशमा उनको सन्तानले
अविच्छिन्न उडान भरोस् ।