
पानी र पसिना उस्तै हो नि हगि ?
म श्रमिक हुँ
६ दिन पसिना बगाउँछु,
सातौं दिन तलब बुझ्दछु ।
त्यो बुझेको तलबलेः
बुवालाई रङ्गीचङ्गी ढाकाको टोपी किनिदिन्छु ।
आमालाई रातो सुतीको धोती किनिदिन्छु ।
पत्नीलाई गुलाबी एक डब्बा सिन्दूर किनिदिन्छु ।
छोराछोरीलाई रङ्गीन किताब कापी र कालो कलम किन्दिन्छु ।
र आँफुलाई गोडा दुई एक सेतो गोल गन्जी किन्दछु ।
पसिनाले जीवनमा यसरी रङ्ग भर्दोरहेछ नि ।
पसिनाको रङ्ग हुँदोरहेछ नि ।
पानीको रङ्ग चाहिँ किन हुन्न ?
‘हरेक झुपडीमा पानीको रङ्ग भेटिन्छ ।
हरेक श्रमिकको पसिना रङ्गीन हुन्छ ।’
अक्सर,
रङ्गीन पसिना नबगाउनेहरु नै भन्ने गर्दछन्,
‘पानीको कुनै रङ्ग हुँदैन !’
‘पानी बेरङ्गी हुन्छ !’