सुर्यको
रक्तिम लालिमा संगै उदाएको
अर्को नयाँ दिन
आज आफ्ना अघिल्तिर फेरि
संचारका अत्याधुनिक उपकरण सजाएर
मृत्युको तथ्यांक हेर्दै
विवशताको नेलमा स्वयं बाँधिएको
म,
मृत्यु उत्सव मनाउन
लाचार भएको छु ।
प्रत्येक विहान
सूर्यको थकित अनुहार संगै
विद्युतिय छापाका
असफल प्रयासहरुले
रगतका छिटाहरुमा लत्पत्याएका
निरस,निरिह अनि
नतमष्तक मान्छेहरुका अनुहारले
चिच्याइ चिच्याइ
मृत्यु उत्सवको उद्घोष गरिरहेका छन् ।
हरेक प्रहर उद्घोष भएका
प्रत्येक शव्दले
जन्माइरहेका छन् यहाँ
अनुत्तरित प्रश्नहरु !
यो प्रलयको पुर्वाभाष हो,
वा विनाशको संकेत ?
क्षमताको छुट्टै परिक्षण हो,
वा विश्वयुद्धको आवेश ?
या हो कुनै काहालिलाग्दो शृङ्खला,
मृत्यु उत्सवको ???
वि.सं.२०७७ जेठ १७ शनिवार ०९:३८ मा प्रकाशित