
२० जेठ, काठमाण्डौं । नेपाली भूमिमाथि भारतीय अतिक्रमणविरुद्ध प्रवासी नेपाली एकता मन्च न्युजिल्याण्डले, न्युजिल्याण्डस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
न्युजिल्याण्डको व्लिङटनमा रहेको भारतीय दूतावासमा पुगेर मन्चले ज्ञापनपत्र बुझाएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमा लिपुलेक हुँदै कैलास मानसरोबरको बाटोमा नेपाली भू–भाग प्रयोग भएको भन्दै बिरोध गरिएको छ । त्यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू–भाग भएको र सुगौली सन्धि लगायतका दस्ताबेजले उक्त भू-भाग नेपालको भएको प्रमाणित गरेको भन्दै अतिक्रमित भूमि फिर्ताको माग गरिएको छ ।
न्यूजिल्यान्डको व्लिङटनस्थित भारतीय दूताबास अगाडी बिरोध प्रदर्शन सहित ज्ञापनपत्र बुझाउनको लागि स्थानिय प्रहरी प्रशासनसँग स्वीकृतिको लागि अनुरोध गरिए पनि अनुमति प्रदान नदिएपछि उक्त ज्ञापनपत्र लिएर प्रबासी नेपाली एकता मंच न्यूजिल्यान्डका सदस्य नबजिब ढुंगाना स्वयम् भारतीय दूताबासमा उपस्थित भएर ज्ञापनपत्र बुझाउन खोज्दा दूताबासबाट ज्ञापनपत्र बुझ्न अस्विकार गरिएको मंचले जनाएको छ । त्यस पश्चात उक्त ज्ञापनपत्र हुलाकमार्फत् व्लिङटनस्थित भारतीय दूताबासमा पठाईएको हो ।
प्रवासी नेपाली एकता मन्च न्यूजिल्यान्डका अध्यक्ष आत्मा राम खनाल र सचिब मिलन जिसिद्वारा संयुक्तरुपमा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ ‘भारतको यो प्रवृत्तिले अन्तराष्ट्रिय कानुन, द्विपक्षीय सन्धि सम्झौताको उल्लंघनका साथै नेपाल र भारतबिचका नागरिकको सामाजिक, सास्कृतिक र एतिहासिक सम्बन्धलाइ पनि कमजोर बनाएको छ ।’