
२४ जेठ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सँगसँगै अर्थतन्त्र चलायमान बनाउन दुवै चुनौतीलाई सँग सँगै लैजानुपर्ने बताएका छन् ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका बारेमा स्थानीय निकायका पदाधिकारी सँग शुक्रबार छलफल गर्दै प्रधानमन्त्री ओलीले लामो समय बन्दाबन्दी (लकडाउन)का कारणले मुलुकको आर्थिकलगायतका गतिविधि ठप्प रहेकाले उक्त गतिविधि चलायनमान गराउनुपर्ने र कोभिड-१९ को नियन्त्रण पनि गर्नुपर्ने भएकाले दुवै चूनौतिलाई सँगैसँगै लैजानुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या, क्वारेन्टिनको निर्माण, स्वास्थ्य सामग्रीको अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको बारेमा भएको गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोभिड-१९ रोकथाम र नियन्त्रणमा स्थानीय तहले खेलेको भूमिकाको सराहना गर्दै कोभिड-१९ को रोकथाम र नियन्त्रण सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर गरेमात्र सफलता प्राप्त गर्न सकिने बताएका छन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्यान्जुका अनुसार प्रधानमन्त्री ओलीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले कोभिड–१९ नियन्त्रण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले स्थानीय सरकार जति सक्रिय भयो त्यति नै चाँडो कोभिड-१९ नियन्त्रण गर्न सकिने बताएका छन् । उनले स्थानीय तहको सवलीकरण गरेर मात्र मुलुकमा आर्थिक विकास गर्न सकिने धारणासमेत व्यक्त गरेका छन् ।
छलफलमा प्रधानमन्त्रीलाई स्थानीय तहमा कोभिड-१९ नियन्त्रण गर्न खेलेको भूमिका र समस्याका बारेमा आफूहरुले जानकारी गराएको अध्यक्ष ब्यान्जुले बताए । उनले सांसदलाई छुट्टाइएको स्थानीय पूर्वाधार विकास कोषको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रधानमन्त्रीसँग माग गरे ।
छलफलमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासलगायतको सहभागिता रहेको बताइएको छ ।