
समयान्तर
विधिको ताण्डब सामू
विवस पसारिन बाध्य आमाको मन
आर्यघाटको दिशातिर
लड्खडाउँदै कुदिरह्यो ।
ठिक पच्चिस वर्ष अगाडि
जसरी होस गुमाउँदै उनी पुगिन्
आफ्नो खसमको चिता अगाडि
र आफ्नो सिन्दुर पुछिन् ।
त्यतिबेला उसको नाबालक एक्लो छोरा
आफ्नी आमाको चीत्कार नबुझेर वाल्ल परिरहेको थियो ।
यस्तै ठिक पच्चिस वर्ष पश्चात्
आफ्नो एक्लो भविष्यलाई
थर्थर काँप्दै दाग बत्ती दिइन् ।
यतिबेला उसका नाबालक नाति
आफ्नो हजुर आमाको छटपटी र
आमा रोदनको नबुझी वाल्ल परिरहेको थियो ।
आर्यघाटको एकातिर
रातो बाकस भारी बिसाएर चुपचाप
बसिरहेको थियो, स्तब्ध र शून्य भएर ।
र, प्रायः जस्तै
बाग्मती आँसु आँसु भएर बगिरहेको छ
आमाको जस्तो मन बनाएर
अर्धाङ्गिनीको जस्तो विह्वलता पोखेर ।