
धुवाँको डोरी समातेर
यो शहर
मोक्षको मार्गमा अभिसाररत छ ।
घाँटीमा
कार्वन मोनोअक्साइडको माला भिरेर
तपस्यालीन छ शहर
र
कोटी कोटी निलकण्ठहरु
सामुहिक वान्ता कार्यक्रममा सम्मिलित छन् ।
बालुवाको थुप्रोलाई
कंक्रिटको थुप्रोलाई
अँगारको थुप्रोलाई
बिकासको नाम दिएर
आत्मरति गर्न सक्छ यो शहर ।
बजारको मुख्यचोकमा
बन्चरो बोक्ने बाहुबलीको शालिक छ
मान्छेहरु भन्छन्
उ यहाँ पसेदेखि
लाली हरायो फूलबाट
हरियाली हरायो बोटबाट ।
त्यसैले महान विजयको प्रतीक बनेको छ सालिक ।
मुहारमा
अखाद्य तेल घसेका
पेटमा
पालिसदार चामल भरेका
यहाँका मान्छेहरु
‘एलियन’ मा रुपान्तरण भएका छन् ।
र
सुपरमार्केटहरुमा
’सेक्सटोय’ को भाउ अकासिंदो छ ।
शहरको मुटु चिरेर बग्ने नदीमा
कुनै समयमा पानी बग्थ्यो रे
ऐले अपारदर्शी द्रब्य बग्दछ
त्यो ‘अनआइडेन्टिफाइड लिक्युड’ को नाम दिन
नगरप्रमुखले हालै
शहरका नामी जुवाडे सम्मिलित
‘नाम सुझाव आयोग’ गठन गरेका छन् ।
शहरको आकासको रंग कस्तो हुन्छ
वा उ त्यो पारीको डाँडाको रंग कस्तो हुन्छ
पाहारिलो दिनको रंग कस्तो हुन्छ
या जुनेली रातको रंग कस्तो हुन्छ
नसोध ऐलेका केटाकेटीहरुलाई
नत्र तिनले भनिदिनेछन्
‘ती सबैको रंग मगन्तेको लुगा जस्तो हुन्छ ।
शहर बिमार छ
बिमार शहरले
शहरबाट बिमारी हटाउन
‘एक घर,एक डाक्टर’ कार्यक्रम ल्याउँदैछ
यो सुनेपछि
एकाएक
‘मेडिकल माफिया’ का कान खडा भएका छन् ।
ऐले शहर बिमार छ ।
यहाँहरुलाई थाहै छ
कोही बिमार हुनु भनेकै
ओखती ब्यापारीको घरमा ‘लक्ष्मी प्रवेश’ हुनु हो ।
ऐले शहर बिमार छ ।